जम्मू कश्मिर, सुरक्षाकर्मीसँगको मुठभेडमा दुई आतंकवादीको मृत्यु

जम्मू कश्मिर,भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादी संगठन हिजबुल मुजाहिदिनका लडाकूबीच मुठभेड हुँदा दुई आतंकावादीको मृत्यु भएको छ।

भास्करका अनुसार जम्मू कश्मिरमा ४८ घण्टामा ८ आतंकवादी मारिएको भारतीय सेनाले दाबी गरेको छ। भारतीय गुप्तचर विभाग शुक्रवार जम्मू कश्मिरमा आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिएको थियो।

विभागको चेतावनीसँगै जम्मू कश्मिर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै सर्च अपरेसन संचालन गरिएको थियो। सोही क्रममा पुलवामाको अवंतिपारो क्षेत्रमा आतंकवादीहरु लुकेर बसेको सूचनाका आधारमा घरमा छापा मार्न जाँदा लडाकूहरुले गोली चलाउन सुरु गरेको बताइएको छ। त्यही मुठभेडमा दुई आतंकावादी मारिएका हुन्।

यस्तै, पुलवामाकै अनंतनाग क्षेत्र लगायत जम्मू कश्मिरका अन्य स्थानमा पनि सुरक्षाकर्मी र आतंकवादीहरुबीच मुठभेड भएको बताइएको छ।

शुक्रवार विभागको सूचनाको आधारमा श्रीनगर र अवंतिपारो एयरबेस क्षेत्रमा आक्रमण हुने सम्भावना रहेकझ भन्दै सुरक्षाकर्मीहरुलाई हाईअलर्टमा राखिएको थियो।

बिहिवार पनि जम्मू कश्मिरको पुलवामामा आतंकवादीहरु लुकेर बसेको आशंकमा गरिएको सर्च अपरेसनमा तीन जना आतंकवादीहरु मारिएका थिए। आतंकवादीहरु सँगको मुठभेडमा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको थियो।

आतंकवादीहरु पुलवामाको दलीपारो क्षेत्रमा रहेको एक घरमा लुकेर बसेको सूचनाको आधारमा सुरक्षाकर्मीहरुले सर्च अपरेसन गरेका थिए।

आतंकवादीहरु रहेको आशंकामा जम्मू कश्मिरमा इन्टरनेट सेवा बन्द गरिएको छ भने स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको छ।

गत फेब्रुअरी १४ मा पुलवामामा आत्मघाती आतंकवादी आक्रमण हुँदा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको थियो। भारतले सो आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय जैश ए मोहम्मदमाथि लगाएको थियो। सो आक्रमण पछि दुवै राष्ट्रबीच युद्धको अवस्था सिर्जना भएको थियो। भारतले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो भने पाकिस्तानले भारतको दाबीलाई प्रोपागान्डा भनेको थियो।