माटोको ढिस्कोले पुरिएर दुईजना गम्भीर घाइते

डोल्पा , हिमाली जिल्ला डोल्पामा बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुइजना गम्भीर घाइते भएका छन्। शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत वडा ८ मा पर्ने पलम-सुलिगाड झरना हुँदै तालसम्म पुग्ने घोरेटो बाटो खन्नेक्रममा शुक्रबार बिहान ९ बजेतिर माथिबाट खसेको माटोको ढिस्कोले पुरियर दुइ जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।

घाइते हुनेमा रुकुम (पश्चिम) बस्ने चक्रबहादुर देबकोटा र बिरमान सार्की रहेका छन्। घाइते दुबैजनाको अवस्था गम्भीर रहेको उनले बताए।

घाइते दुबै जनालाई गृहमन्त्रालयको पहलमा सेनाको हेलिकोप्टरबाट उपचाको लागि नेपालगञ्ज लगिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। उनीहरूले कर्णाली प्रदेश सरकारले छुट्याएको रकमबाट बाटो खन्दै गर्दा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएको बताइएको छ।