नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा डिएसपीअधिकारीमाथि अख्तियारको मुद्दा

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

उनका प्रमाणपत्र कशंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्ने उजुरीमा अनुसन्धान हुँदा अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइ.कम) तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको पाइएको अख्तियारले जनाएको छ।

अधिकारीले नियुक्ति पाउने उद्देश्यले सोही झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको अख्तियारले जनाएको छ।

अख्तियारले अधिकारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ।