ओली र प्रचण्ड कम्युनिष्ट नामका ‘भतुवा’ हुन – वैद्य

काठमाडौं, नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य (किरण) ले सत्तासीन नेकपाका नेताहरुलाई ‘भतुवा’ कम्युनिष्टको संज्ञा दिएका छन् । सोही पार्टीका नेता सिपी गजुलेरद्वारा लिखित संग्रह ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को विमोचन समारोहमा उनले यस्तो बताएका हुन् ।

‘सिपी गजुरेलजीले यो पुस्तकमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र नेपालको कम्युनिष्ट आन्दोलन बारेमा राम्रो लेख्नुभएको छ । सत्तामा रहेका नेपालका केही कम्युनिष्टहरुले यतिबेला समाजवादको नारा लगाइरहेको छ,’ महासचिव वैद्यले भने, ‘उनीहरुको लगाएको समाजवादी नारा भतुवा समाजवादी नारा हो । उनीहरु भतुवा कम्युनिष्टका रुपमा रुपान्तरण भएका छ । उहाँले पनि पुस्तकमा यही अनुसार चित्रण गर्नुभएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भतुवा पुँजीवादीको पक्षधर भएको गम्भीर आरोप लगाए ।

‘ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् । भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छैन । काँग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन्’ महासचिव वैद्यले भने,‘उनीहरु कम्युनिष्ट नै होइनन्, भतुवा हुन् । भतुवाको कुनै ठाउँ ठेगाना हुँदैन । उसले अरुको बनाएको खाने काम गर्छ । ओली प्रचण्ड पनि त्यस्तै हुन् ।’

कितावमाथि बढी केन्द्रित भएका उनले उक्त पस्तकले संसदीय व्यवस्था र वर्तमान सरकारको भण्डाफोर गरेको दाबी गरे । साथै महासचिव वैद्यले गजुरेलको पुस्तकले सच्चा कम्युनिष्टलाई एकजुट गराउन र संघीय जनगणतन्त्रको बहस सिर्जना गराएको पनि बताए ।