नेपालगञ्ज सशस्त्र प्रहरीका पूर्व सहायक हबल्दार ब्राउन सुगरसहित पक्राउ

नेपागलञ्ज , सशस्त्र प्रहरी बलका पूर्व सहायक हबल्दार लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट ब्राउनसुगर बोकेर आइरहेका एपिएफका पूर्व सहायक हबल्दार प्रकाश थापालाई नाकामा रहेको जमुनाहा प्रहरीले पक्राउ गरेको हो ।

बिचैमा जागिर छोडेरका सहायक हबल्दार थापासँग परिचयपत्र भने बहालवाला नै थियो । उनले परिचयपत्र नबुझाएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रकाश सापकोटाका अनुसार जागिर छोडिसकेका थापासँग सशस्त्र प्रहरीको परिचय पत्र थियो ।

लागु औषधको दलदलमा फसेका उनले सेवन गर्नका लागि ब्राउनसुगर बोकेका थिए । त्यसो त सशस्त्र प्रहरी भएकाले नाकामा कसैले जाँच गर्दैन भन्ने बुझेर उनले ब्राउनसुगर पास गरेका थिए । जमुनाहा नाकामा लागु औषध ब्यूरोको टोली २४ घण्टा नै खटिने गर्दछ । एक प्रहरी भन्छन्, ‘ब्यूरोको टोली त यति बुझ्ने भइसक्यो कि मान्छे हेर्दा नै लागु औषध कारोबार हो कि सेवनकर्ता हो थाहा पाइहाल्छन् ।’

सीमावर्ती बजार रुपैडिहामा सहजै पाइने ब्राउनसुगर सेवन गर्नका लागि नेपालगञ्ज र आसपासबाट दैनिक ठूलो संख्याका मानिसहरु जाने गर्दछन् । रुपैडिहामा सेवन गरेर आउनेलाई प्रहरीले कारबाही गर्दैन ।

उनीहरुको साथमा माल भेटिएमात्रै कारबाही प्रक्रिया अघि बढ्छ । इन्जिनियर, सरकारी कर्मचारीहरु समेत नाकामा लागु औषध खाएर आउँदा ब्यूरोको फन्दामा परेका छन् । तर, कारबाही गर्न नसकिने हुँदा उनीहरुलाई सम्झाएर छोडिएका छन् ।