कञ्चनजंघामा दुई भारतीय आरोहीको मृत्यु
ताप्लेजुङ जिल्लामा पर्ने कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ भने चिलीका एक आरोही बेपत्ता भएका छन्।
उनीहरूलाई कंचनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाकाअनुसार दुई जना भारतीयको बुधबार राति क्याम्प ४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको हो।
मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कन्राज रहेको शेर्पाले जानकारी दिए। उनका अनुसार वैद्य ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कँदै थिए भने कुलपाल माथि चढ्दै थिए।
‘दुबै जनालाई हाइअल्टिच्युडको समस्या भयो, राति अबेरसम्म शेर्पाहरूले क्याम्पमा ल्याउन प्रयास गरे। तर उनीहरूको मृत्यु नै भयो,’ पासाङले भने,‘त्यसपछि शव छोडेर शेर्पाहरू क्याम्पमा पुगे।’
मृतकहरूको शव अहिले पनि घटनास्थलमै रहेको र तल झार्ने प्रयास भइरहेको पासाङले जानकारी दिए। हिजै कञ्चनजंघा चढेर फर्किने क्रममा रहेका चिलीका आरोही रोर्टिगो भिभान्को बेपत्ता भएका छन्। ‘उनले आफू चुचुरोमा पुगेर फर्किन लागेको बताएका थिए तर अहिलेसम्म सम्पर्कमा आएका छैनन,’ पासाङले भने।