जाजरकोट पुगेर गगन थापाले भने ः सरकार निरकुंश बन्दै गयो

जाजरकोट- नेपाली काँग्रेसका नेता गगन थापाले सरकार निरकुंश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह वजारमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले सरकार तानाशाही बनेको आरोप लगाएका हुन् ।

संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयकले सरकारको चरित्र उदाङ्ग भएको उनले बताए । प्रेसलाई निचोर्न खोजेर सरकारले नागरिकका अधिकारहरु खोस्ने रणनीतिमा लागेको उनको दाबी थियो ।

प्रेसको स्वतन्त्रता विना लोकतन्त्र र गणतन्त्रको रक्षा असम्भव भएको भन्दै उनले सरकारका क्रियाकलापविरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरु जाग्नु पर्ने बेला आएको नेता थापाको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले दुनियालाई जिस्काउन मिल्ने तर एउटा नागरिक र पत्रकारले उनको गलत कामको विरोधमा लेख्न र बोल्न नपाउने भन्दै उनले आक्रोश व्यक्त गरे । पत्रकार र जनतालाई नजिस्काउन समेत उनले चेतावनी दिए । सरकारका यी हर्कतको भण्डाफोर गर्नु पर्ने र नागरिक एकजुट हुनु पर्नेमा उनले जोड दिए ।