बुटिक तालीमले ल्याएको त्यो आत्मबिश्वास…..
तुलसीपुर,दाङ दंगिशरण गाउँपालिका वडा न. ४ मा बस्ने दुर्गा बस्नेतको केहि दिन यताको दैनिकी कपडामा बुट्टा भरेर बित्ने गरेको छ । आखाँ नै तिर्मिराउँने गरि आफुले भरेको बुट्टा हेर्दै आफै मुसुक्क हाँस्ने गर्छिन् । सेतो कपडामा आफुले भरेको बुट्टा घरिघरि हेरिरहन्छिन् ।
उनले, कपडामा धर्सा परेका बुट्टा भर्न आँखालाई तन्काएर घरि ठूलो र घरि सानो बनाउँदै औंला एकनासले चलाउने गर्छिन् । उनी त्यसैगरी घोप्टो परेर आँखा ठूलो सानो पार्न थालेको एक हप्ता भयो ।
उनी यसैमा मस्त छिन् ।
गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले सिक्ने मात्र हो कि पछि व्यवसायिकरण पनि गर्ने हो भन्ने प्रश्नको बस्नेतले फिस्स हाँस्दै जवाफ फर्काइन्,–‘म पूर्ण रुपमा व्यवसायी बन्छु ।
घरकै काम गरेर बस्नुभन्दा यस्तै गरेर पैसा कमाउँनु पर्ने रैछ । अव त बुझेँ आफ्नो हातमा सीप भएपछि पैसा पनि हुने रैछ । तालीम लिईसकेपछि आफु जस्तै अरु महिला दिदीबहिनीहरुलाई पनि सिकाउने उद्देश्य लिएकी छु ।’
यस्तै कपडामा बुटट भरिरहेकी अस्मीता बुढाथोकी वडामा महिलाहरुका लागि बुटिक कडाई तालीम संचालन गरेको भन्दै खुसी ब्यक्त गरिन् । घरमा बसेर के गरौं भन्ने लागेको बेला महिलाहरुको क्षमता अभिवृद्धिका लागि संचालन गरिएको यो तालीम लिन पाउँदा आफुलाई अवसर नै जुरेको बताइन् । उनले, यस्तो तालीम आजसम्म नपाएको र अहिले लिन पाएकोमा आफु एकदमै खुसी भएको बताइन् ।
त्यस्तै वडा नं. ३ की सीता वि.क पनि यो तालीम लिन पाएको निक्कै खुशी भएकी छिन् । उनले यो बुटिक तालीम लिईसकेपछि ब्यवसाय नै संचालन गर्ने सोचमा रहेको बताएकी छिन् ।
अहिले दंगीशरण गाउँपालिका वडा न. ४ मा महिलाहरुका लागि ४५ दिने बुटिक कडाई तालीम संचालन भएको छ । उनीहरु आफुहरुका लागि यो नौलो तालीम रहेको बताउका छन् । भविष्यमा घरमै बसिरहेका महिलाहरु दिदीबहिनीहरुका लागि यस्तै सीपमूलक तालीम संचालन गरिदिन पनि आग्रह गरेका छन् ।
दंगीशरण गाउँ पालिका वडा न. ४ को आयोजनामा संचालन भएको ४५ दिने बुटिक कडाई तालीमका सहभागीहरु एकदमै उत्साहित भएको प्रशिक्षक रेखा बस्नेतले बताइन् ।
उक्त तालीममा गाउँपालिकाका ९ जना महिलाहरुको सहभागिता रहेको छ । वडा न. ४ का अध्यक्ष नेप बहादुर कुवँरको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता र उपाध्यक्ष पिमा कुमारी खड्कका विशिष्ट आतिथ्यतामा बैशाख २५ गते ४५ दिने बुटिक तालीमको उद्घाटन भएको हो ।