गर्मीले जनजीवन कष्टकर भएको भन्दै नियमित विद्युतको माग

नेपालगञ्ज, नेपालगञ्ज उद्योग बाणिज्य संघले मंगलबार नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रलाइ विद्युत समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका अध्यक्ष नन्दलाल बैश्य, प्रथम उपाध्यक्ष अव्दुल वाहिद मन्सुरी लगायतले ज्ञापनपत्र बुझाएका हुन् । अत्याधिक लोडसेडिङले गर्मी बढेर सर्बसाधारणको जिव कष्टकर भएको र उद्योगधन्दाहरु चल्न मुश्किल भएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

नेपालको सर्बाधिक गर्मी हुने ठाउँमा नेपालगन्जमा गर्मीमा विद्युत आपूर्तिमा अनियमितता हुँदा उद्योगधन्दा सञ्चालनमा अस्तव्यस्त हुनुका साथै सर्वसाधारण नागरिकको जनजीवन कष्टकर भएकाले विद्युत समस्या समाधानको माग गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलारे यादवले ज्ञापनपत्र बुझदै नेपालगञ्जमा हाल माग अनुसारको विद्युत भएपनि धेरै ठाउँबाट प्रशारण लाईन भएका कारण परिवर्तन गर्ने क्रममा केही समय विद्युत अवरुद्ध हुने गरेको बताए । उनले समास्य सामाधान तर्फ ध्यान जाने समेत बताए ।