सरकारले मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गर्यो : साझा विवेकशील
काठमाडौं : साझा विवेकशील पार्टीले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक ल्याएर मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गरेको बताउँदै विधेयक अविलम्ब फिर्ता गर्न माग गरेको छ। पार्टी मुख्यालय बखुण्डोलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन्मुख भएको बताए।
नेपालको संविधानले सुनिश्चित गरेको पूर्णप्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध मिडियालाई नियन्त्रण गर्ने अभिप्रायले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकप्रति आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको मिश्रले बताए।
वर्तमान सरकारको डेढवर्षे कार्यकाल राष्ट्रियता, जनजीविका, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा अत्यन्त निराशाजनक, बदनामपूर्ण र अलोकप्रिय भएको साझा विवेकशीलको ठहर छ। पार्टी संयोजक मिश्रले भने,’सत्तारूढ दलका शीर्ष नेताहरूले नै स्वास्थ्य, शैक्षिक, आर्थिक र भूमाफियासँग हिमचिम बढाइरहेको प्रमाण नेपाली मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताहरूले मिडियालाई आफ्नो ‘मुख्य दुस्मन’ ठानेका छन्।’
साझा पार्टीले सरोकारवालाहरूसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअनुकूल कानुन निर्माण गर्न सरकारसँग माग गरेको छ। मिडिया काउन्सिल विधेयकबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आफूहरू स्वतन्त्र मिडियाको कट्टर हिमायती भए पनि पत्रकारका दलीय संगठन भने भंग गरिनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको मिश्रले स्पष्ट पारे।
पत्रकारका हकहित संरक्षण गर्न एउटा गैरदलीय छाता संगठन भने हुनुपर्ने साझाको ठहर छ। कार्यक्रममा संयोजक मिश्रले नेपालको लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेसले पुर्याएको अतुलनीय योगदानको सम्मान गरे। उनले प्रेसको घाँटी निमोठ्ने कुनै पनि कदमविरुद्ध साझा पार्टी मिडिया जगतसँग साथमा रहने ऐक्यबद्धता पनि जनाए।