यसकारण सभामुखले हटाउन लगाए संसदमा प्रधानमन्त्री र सांसदले बोलेका असंसदीय शब्द

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा बोलेका संसदीय मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरूमै सभामुख महराले प्रधानमन्त्री र सांसदहरूले प्रयोग गरेका संसदीय मर्यादा अनुकूल नभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएको जानकारी गराएका हुन्।

‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्रीज्यूले स्पष्टिकरण तथा माननीय सदस्यको जिज्ञासाको क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकूल नभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्छु,’ उनले भने।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले समर्थनमा टेबल ठटाए भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सांसदहरूले प्रश्न सोध्ने क्रममा प्रयोग गरेका संसदीय मर्यादा अनुकूलका शब्द पनि हटाउनु पर्ने माग गरेपछि सभामुखले सांसदका शब्द पनि अभिलेखबाट हटाउन भनिसकेको बताएका हुन्।

संसदमा प्रधानमन्त्री ओलीले प्रश्न सोधेका प्रतिपक्षी सांसदलाई ‘निम्छरो’ भनेको भन्दै प्रतिपक्षी दल कांग्रेसले शब्द अभिलेखबाट हटाउन माग गरेको थियो। प्रधानमन्त्री ओलीले भने कांग्रेस सांसद मीन विश्वकर्माको ‘भ्रष्टाचार गर्दिनँ भन्नुभएको छ। २५ अर्बभन्दा माथिको ठेक्कापट्टा प्रधानमन्त्रीले मात्रै लगाउने नियम बनाइएको छ। अब भ्रष्टचार प्रधानमन्त्री आफैंले गर्ने हो कि अरुलाई गर्न दिने हो स्पष्ट पारिदिनुहोला,’ भन्ने प्रश्न नै गैरसंसदीय भएको दाबी गरेका थिए।

संसदमा प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाले अभिलेखबाट गैरसंसदीय शब्द नहटाएको भन्दै सभामुख निरिह, काँतर र कमजोर भएको टिप्पणीसमेत गरेका थिए।

आखिर के भएको थियो त संसदमा ?

मंगलबारको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाएका जवाफ दिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भने-सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम पारित भएको पोहोर सालको परम्परालाई यसपालि पनि कायम राखौं।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री कुर्सीमा बस्न गए। सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई प्रश्न भए सोध्न समय दिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्नको वर्षा गराए। संविधान संशोधनदेखि प्रधानमन्त्रीले पेस गरेका तथ्यांकको विश्वासनीयलगायत विषयमा प्रश्न केन्द्रीत थिए। सांसदको प्रश्न सकिएपछि सभामुख महराले प्रधानमन्त्रीलाई जवाफ दिन समय दिए।

प्रधानमन्त्री ओली उत्तर दिन फेरि रोष्ट्रममा गए। प्रधानमन्त्रीले सुरूमै भने- आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु। उनको यस्तो भनाइपछि वातावरण असहज भयो।

प्रधानमन्त्रीको यो भनाई कांग्रेस सांसद मीन विश्वकर्माको प्रश्नप्रति लक्षित थियो। विश्वकर्माले सोधेका थिए- भ्रष्टाचार गर्दिनँ भन्नुभएको छ। २५ अर्बभन्दा माथिको ठेक्कापट्टा प्रधानमन्त्रीले मात्रै लगाउने नियम बनाइएको छ। अब भ्रष्टचार प्रधानमन्त्री आफैंले गर्ने हो कि अरुलाई गर्न दिने हो स्पष्ट पारिदिनुहोला।

जवाफमा प्रधानमन्त्रीले ‘आक्रोश, कुण्ठा र निम्छरा’ अभिव्यक्ति भनेपछि विश्वकर्माले नियमापत्ति जनाए। विश्वकर्माको नियमापत्तिलगत्तै सभामुख महराले ध्यानाकर्षण भएको बताए। तर कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठे र विरोध जनाए।

यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माननीयहरू म धेरै बहसमा जान चाहन्नँ। प्रश्नको मर्यादा हुन्छ,’ भन्दै जवाफ दिए।

केहीबेर भनाभन र चर्काचर्की भएपछि प्रधानमन्त्री ओलीले एकाध प्रश्नको जवाफ दिए र कुर्सीमा फर्किए।

कांग्रेस सांसद उठेर विरोध गरिरहेकै बेला सभामुख महराले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे र बहुमतले पारित भयो।

यस्ताे थियाे दाेहरी

प्रेम सुवाल

१२ हजार अस्थायी करार शिक्षक आन्दोलनमा छन्। अयोग्य भए उनीहरुलाई पहिले किन भर्ना अहिले किन निकालियो?

कुनकुन कम्युनिष्ट देशको राष्ट्रपतिले मेरो सरकार भन्ने चलन छ?

दिब्यमणिराज भण्डारी

आलु र धानको उत्पादन बढ्यो जस प्रधानमन्त्रीद्ये लिनुभयो। व्यवस्थापन र भिजनको कमजोरीले गर्दा कतिपय योजनाहरु अलपत्र छन्त्य, सको जवाफदेही र जिम्मेवारी मन्त्रीपरिषदले लिन्छ कि लिन्न?

पुष्पा भुसाल

प्रधानमन्त्रीले भन्नुभयो सबै अपराधी जेल गए। बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा जेल जान बाँकी छ। पन्तको हत्या गर्ने अपराधी कहिले जेल जान्छ?

सुजाता परियार

समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा छ। हरेक समुदाय सुखी हुनुपर्छ। दलित समुदायलाई सम्बोधन गर्ने कार्यक्रम किन आउन सकेन। सरकारले कस्तो समृद्धि चाहेको हो?

गगन थापा

राष्ट्रपतिज्यूको सरकारको प्रधानमन्त्रीज्यूले वाइडबडि खरिद प्रकरण, बालुवाटार जग्गा प्रकरणमा दोषीलाई दण्डित गर्न अभुतपूर्व काम गरेको भन्ने प्रसंसा गर्नुभयो। छानविन गर्ने निकाय एकातर्फ, फैसला दिने प्रधानमन्त्री। मन्त्रीज्यू निर्दोस हुनुहुन्थ्यो, महासचिव ठगिनुभएछ। यस्तो कुरा प्रधानमन्त्रीज्युले कहाँबाट थाहा पाउनुभयो।

दिलेन्द्रप्रसाद बडु

प्रधानमन्त्रीले महाकालीमा झोलुंगे पुल बनाएको भनेर झुटा विवरण राख्नुभयो। २०४८ सालमै महाकालीमा झोलुंगे पुल बनाएको हो दार्चुलामा। अहिले कहाँ बनाएको हो झोलुंगेपुल? जानकारी दिनुपर्‍यो।

डिला संग्रौला पन्त

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको छ। काण्डैकाण्डमा सरकार फसेको छ। प्रधानमन्त्रीज्यू भ्रष्टाचारको जगमा समृद्धि कहाँबाट हुन्छ?

पार्वता डिसी चौधरी

महाकाली नदीमा कुन कुन ठाउँमा कतिवटा तुइन विस्थापित भए जवाफ पाउँ। निर्मलाको हत्यारा कहिलेसम्म पत्ता लाग्छ? बालुवाटार खुला मञ्चलगायत सरकारी जग्गा अतिक्रमण भएको छ कहिलेसम्म त्यो जग्गा फिर्ता ल्याउनुहुन्छ। एनसेलसँग कर उठाउने/नउठाउने सरकारको के नीति छ?

हिरा गुरुङ

द्वन्द्वका मृतकका परिवार र घाइतेका परिवारलाई कुनै विशेष योजना किन ल्याउनुभएन। शिक्षा, स्वास्थ्यबारे केही योजना छन् कि जानकारी चाहियो प्रधानमन्त्रीज्यू।

राजेन्द्रकुमार केसी

३३ किलो सुनका अपराधीलाई जेल चलान गरेँ भन्नुभयो। तर ३३ किलो सुन कहाँ छ प्रधानमन्त्रीज्यू?

सञ्जयकुमार गौतम

आपतकालीन हवाइ अवतरण गराउने सडक बनाउने कुरा आयो। तर देशका राजमार्ग साइकलमैत्री, ओभरपास र अन्डरपास भएको बनाउँदा राम्रै हुन्थ्यो। यसबारे प्रधानमन्त्रीले के सोच्नुभएको छ?

देवेन्द्रराज कडेंल

मार्सीचामलदेखि मन्दिरको दर्शनसम्म बालुवाटारमा आउनेको लिष्ट यदी जारी गरियो भने त्यसबाट मात्रै थाहा हुन्छ कि प्रधानमन्त्रीले भ्रष्टचारीको अनुहार हेर्नुहुन्छ कि हेर्नुहुन्न। लिष्ट सार्वजानिक गर्नुस् त्यहाँ भुमाफिया छन् कि मेडिकल माफिया छन् कि सुकुम्वासीका नाममा जग्गा अतिक्रमण गर्ने माफिया छन् जानकारी हुन्छ।

शरदसिंह भण्डारी

संविधान संशोधन कहिले हुन्छ? बोल्ने एउटा लेख्ने अर्को काम किन गर्नुभयो?

अनिलकुमार झा

गएको दशैंमा फुर्सद हुन्छ संविधान संशोधन छलफल गरौं भन्नुभएको थियो भएन। अब फेरि अर्को दशैंमा छलफल गर्ने हो कि के हो? तुइन विस्थापित गरेको भन्नुभो, डुंगा विस्थापन कार्यक्रम आउँछ कि आउँदैन?

उमा रेग्मी

राष्ट्रपति महिला उत्थान कार्यक्रमको कार्यान्वयन प्रक्रिया के हो? कस्ता महिलालाई उत्थान गर्न के कस्ता कार्यक्रम छन्?

मीनेन्द्र रिजाल

नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई सम्मानित लेखेको छ भिडिओमा माननिय छ के सत्य हो जानकारी पाउँ। संविधानको भाग ५,६ र ७ ले राष्ट्रपतिको मातहत नेपाल सरकार राखेको छैन। प्रदेश संघको मातहत भन्नुभयो प्रधानमन्त्रीले तर संविधानको धारा ५६ ले साझा होइन बेग्लाबेग्लै क्षेत्राधिकारको व्यवस्था गरेको छ। मातहत होइन। क्षमा गर्नुस् प्रधानमन्त्रीज्यू हामीले भनेको कुरा तपाइँलाई गम्भीर लाग्दैन तपाइँले बोलेका कुरा आमनागरिकलाई ख्याल ठट्टा मनोविनोद व्यंगविनोद लाग्न थालेको छ। यो व्यवधान कहिले हुन्छ? कम्वोडियाको भ्रमणपछि कि अझ पर्खनुपर्छ?

ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौंलाई धुलोमाण्डौं भन्न थालिएको छ। डस्टमान्डौमा मास्क लाइन्छ कि लाइन्न प्रधानमन्त्रीज्यूले जानकारी दिनुपर्‍यो।

मीनबहादुर विश्वकर्मा

सम्माननीय प्रधानमन्त्री ज्युले कोशीमा एकपटक के स्टीमर देख्नुभएछ बारम्बार पानीजहाजको गीत गाइराख्नुभएको छ। त्यो स्टीमर २०६१ सालदेखि स्थानीयबासिले सञ्चालन गरेका हुन्। पाइपबाट भान्सामा ग्यास कहिले आउँछ? भ्रष्टाचार गर्दिनँ भन्नुभएको छ २५ अर्बभन्दा माथिको ठेक्कापट्टा प्रधानमन्त्रीले मात्रै लगाउने नियम बनाइएको छ। अब भ्रष्टचार प्रधानमन्त्री आफैंले गर्ने हो कि अरुलाई गर्न दिने हो स्पष्ट पारिदिनुहोला।

मीना पाण्डे

निर्मलाको हत्यारालाई एक पटक थुनेर देखाइदिनुपर्‍यो प्रधानमन्त्रीज्यू। जंगल अतिक्रमण गरेका बस्तीहरु जस्तै सर्लाहीका कहिले फिर्ता ल्याइन्छन्?

प्रकाश रसाइली

बुढीगण्डकी विना प्रतिस्पर्धा किन चिनियाँलाई दिइयो? मेडिकल कलेजले विद्यार्थी थुनेर पैसा लिने गरेको छ सरकार कहाँ लुकेर बसेको छ?

रामबहादुर बिष्ट

प्रत्यक्ष निर्वाचित सांसदले चार करोड बाँड्न पाउँछन् तर समानुपातिक सांसदले पाउँदैनन् भन्ने प्रधानमन्त्रीलाई थाहा छ कि छैन सोध्न चाहन्छु।

सत्यनारायण शर्मा

५ वर्षमा कति युवायुवती विदेश जानेछन्?

दुर्गाकुमारी विश्वकर्मा

जनयुद्धका घाइते, योद्धाबारे नीति कार्यक्रमले समेटेन। द्वन्द्वकालीन मुद्दा खारेज गर्नेबारे के तयारी छ?

बालकृष्ण खाँण

मानव अधिकार आयोगलाई कमजोर बनाएर नागरिकको मानव अधिकारको रक्षा कसरी हुन्छ?

महेन्द्र राय यादव

अस्थायी शिक्षक आन्दोलनमा छन् सरकारको सोच के छ? तराई मधेशमा जनसंख्याको आधारमा बजेट जान्छ कि जाँदैन? फाष्ट ट्याक र विमानस्थल कहिले बन्छ? हुलाकी सडकको कुलकुलेसा कहिलेसम्म ठोस रुपमा निर्माण हुन्छ?