रूख रोपेर कांग्रेसको ‘जागरण अभियान’ शुरु

माला–खादा प्रतिबन्ध,महिलावक्ता अनिवार्य !

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस (बुधबार)देखि एकसाथै देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा निस्किने भएकाे  छ । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर तीन चरणमा वर्षभरि अभियान चलाउने काँग्रेसले जनाएको छ ।

आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने काँग्रेसले जनाएको छ । आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ । अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरिएको जनाएको छ ।

दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसचूी सार्वजनिक गरेको छ । पहिलो चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ ।

त्यसका लागि काँग्रेसले प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । साथै पार्टीका शीर्ष नेताले सात वटै प्रदेशबाट अभियानको आरम्भ गर्ने काँग्रेसले जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र कोषा अध्यक्ष सीतादेवी यादवलाई सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा खटिएका छन् ।

सभापति देउवा प्रदेश नम्बर ३, वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २, उपसभापति विमलेन्द्र निधि सुदूरपश्चिम प्रदेश, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १, महामन्त्री सशांक कोइराला प्रदेश नम्बर ५, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेश र कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशमा खटिएका छन् । उनीहरु एकै समयमा एकै किसिमले जागरण अभियानको प्रारम्भ गर्ने शर्माले रातोपाटीलाई जानकारी दिए ।