एकता पुरा नहुँदै फुटको संघारमा‘समाजवादी पार्टी ’मच्चियो लफडा

केहि नयाँ शक्तिका नेताहरु बाहिरिँदै !

काठमाडौं,एकदिन अगाडि मात्रै घोषणा भएको समाजवादी पार्टी नेपालभित्र एकतासँगै लफडा सुरु भएको छ। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच हालै एकीकरण घोषणा भएको थियो। उक्त एकीकरणबाट दुवै पक्षका नेतामा रहेको असन्तुष्टि प्रकट हुन थालिसकेको छ।

त्यसको असर हो, बाबुराम भट्टराई पक्षका नेताहरुले आज छुटै भेला गरेका छन्। ललितपुरमा जारी भेलाबाट नयाँ शक्ति पक्षका नेताहरुले बैकल्पिक राजनीतिक संगठन बनाउने विषयमा छलफल गर्दैछन्।

बैठकको नेतृत्व पूर्वमन्त्री कल्पना धमलाले गर्दैछिन्। बैठकमा सहभागी नेताहरुका अनुसार डाक्टर भट्टराईले आफ्नो विचार त्यागेकाले बेग्लै बैकल्पिक शक्ति निर्माण गरेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको हो।

उपेन्द्र यादवसँग मिलेर भट्टराईले आत्मसमर्पण गरेको आरोप उनीहरुको छ। स्रोतका अनुसार उक्त बैठकमा धमलासहित देबेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, सोनाम सिंह, नारायण तिवारीलगायतका छन्। यता फोरमकी सांसद सरिता गिरीले पनि समाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गर्दै आएकी छिन्।