अमेरिकी डीभी चिट्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

अमेरिकी डाइभर्सिटी भिसा (इडीभी) २०२० को नतिजा गएराति सार्वजनिक भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासकाअनुसार सन् २०१८ को अक्टोबरदेखि नोभेम्बरसम्म इडीभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको इडीभी चिट्ठाको परिणाम सार्वजनिक भएको हो।

डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको जवाफ नदिन दूतावासले सर्वसाधारणमा आग्रह गरेको छ। ‘दूतावासले डीभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल पठाउँदैन। डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको जवाफ नदिनुहोला’, दूतावासले भनेको छ।

नेपाली समयअनुसार मंगलबार राति ९:४५ बजेदेखि डीभी चिठ्ठाको नतिजा सार्वजनिक भएको हो। अमेरिकी इडीटी समयअनुसार यो नतिजा मंगलबार मध्याह्नपछि सार्वजनिक भएको हो।
नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रमअन्तर्गत अमेरिकाले नेपालसहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ। अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन्।

यसरी चेक गर्ने डीभी नतिजा

डिभीको नतिजालाई काठमाडौंका डीभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन डीभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डीभी भर्नेहरुले सोझै https://dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।