संसद्‍मा प्रधानमन्त्रीको जवाफ : सपना दिउँसै देख्‍ने हो, निदाएर होइन

प्रधानमन्त्री र काँग्रेसका सांसदबीच गजबकाे दोहोरी

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने सपना दिउँसै देख्नुपर्ने बताएका छन् । संसद्‍मा प्रस्तुत नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ओलीले धेरैले सपना भनेको राति मात्रै देख्ने बुझेको बताए ।

‘सपना भनेको राति मात्रै देखिने कुरा भन्ने लागेछ । देश बनाउने कुराको सपना हो, हाम्रो भविष्यको सपना हो’, उनले भने, ‘निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन, जागेरै देख्ने सपनाको कुरा गरेको हो । सहिदको सपना भनेको निदाएर देखिने सपना होइन ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षीले गरेको सरकारको विरोध ‘पहाड खन्दा मुसो पनि ननिस्किने’ जस्तो भएको बताए । ‘प्रतिपक्षीले विरोध गर्छ तर पहाड खन्दा मुसो निस्के जस्तै भएको छ’, उनले भने, ‘राष्ट्रपतिले ‘मेरो सरकार’ भनिन् भनेर आलोचना हुन्छ ।

विश्वका धेरै देशमा मेरो सरकार भन्ने चलन छ, जनताले मेरो सरकार भन्दा राष्ट्रपतिले किन भन्न हुँदैन ? सबैले मेरो र आफ्नो सरकार भन्नुपर्छ।’ प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बेलायतकी महारानीको जस्तो सम्बोधन राष्ट्रपतिको भनेर गरेको टिप्पणीप्रति ओलीले रोष प्रकट गरे ।

‘बेलायत हाम्रो मित्र राष्ट्र हो, त्यसैले छिमेकीबारे नकारात्मक टिप्पणी हुनुहुँदैन’, उनले भने, ‘आलोचना गर्दा छिमेकीमाथि आघात पुग्छ भन्ने विपक्षीले हेक्का राखुन्।’ कम्युनिष्ट सिद्धान्त भनेको गरिबीको वितरण गर्नु हो भन्ने कुरा अब ओझेलमा परेको ओलीले बताए।

‘कम्युनिष्ट सिद्धान्त भएका भियतनामहरु अहिले विकासको चरम सीमामा छन्’, उनले भने, ‘हाम्रो नीति तथा कार्यक्रम देश विकासका लागि हो। तर यसलाई तानाशाही देखियो । हामी अभ्यास गरिरहेका छौँ, अभ्यासलाई मिलाउँदै जानुपर्छ ।’

प्रधानमन्त्री र काँग्रेसका सांसदबीच दोहोरी

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे संसदमा बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका थिए । ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका सांसदहरुको सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भनेपछि कांग्रेसले आपत्ति जनाएको थियाे  ।

प्रधानमन्त्रीले जवाफ दिन लाग्दा काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे ।

काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए । सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे ।

सभामुख महराले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह उनले संसदमा अपशब्द बोल्ने भन्दै प्रश्न गरे । उता काँग्रेस सांसदहरुले पनि रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे ।