फोरम र नयाँ शक्तिबीच एकता घोषणा,पार्टीकाे नाम जुर्याे समाजवादी पार्टी

दुई अध्यक्ष, तीन महासचिव, यी हुन् पदाधिकारी

काठमाडौँ ,नवगठित समाजवादी पार्टी नेपालले आफ्ना पदाधिकारीको टुंगो लगाएको छ । नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समजवादी पार्टीले नेकपाकै सिको गर्दै दुईजना अध्यक्ष राखेको छ। जसअनुसार संघीय परिषद् नेपालको अध्यक्ष विघटित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई बनेका छन् । उनले देशभरका विभिन्न संघीय कमिटीहरुको नेतृत्व गर्ने भएका छन् ।

विघटित फोरमका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति अध्यक्षको जिम्मेवारी लिएका छन् । तत्कालीन एमालेबाट छुट्टिएर संघीय समाजवादी पार्टी नेपाल बनाएका अशोककुमार राई समाजवादी पार्टीमा वरिष्ठ नेता भएका छन् ।

यो पार्टीको सह–अध्यक्षमा फोरमतर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । त्यसैगरी पार्टीको उपाध्यक्ष्मा आठजना चयन भएका छन् । उपाध्यक्ष बनेकाहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् । नयाँ पार्टीको महासचिवको जिम्मेवारी तीनजनाले पाएका छन् । महासचिव बन्नेहरुमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहाय प्रसाद याद रहेका छन् ।

त्यसैगरी उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विक र प्रकाश अधिकारी चयन भएका छन् । पार्टीको सचिवमा मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र वसन्त सिंहलाई जिम्मेवारी दिइएको छ । दुईजना सचिवमा पछि मनोनयन गर्ने सहमति नेताहरुले गरेका छन् । समाजवादी पार्टीको कोषाध्यक्षको जिम्मेवारी प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवले पाएका छन् ।