संसदमा देउवाको हमला – बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाइयो

मेरो कार्यक्रमलाई आफ्नो भनेर बकम्फुसे दाबी गरियाे

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्काे आलोचना गरेका छन् ।

उनले बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाएर विवादमा तानिएको बताउँदै गत वर्षजस्तै यो वर्ष पनि लहडमा नीति तथा कार्यक्रम ल्याइएको दावी गरे ।

संबैधानिक निकायहरुमा सरकारले व्यापक हस्तक्षेप गरेको भन्दै सरकारले अभिब्यक्ति स्वतन्त्रतामा नियोजित हमला गरेको दावी गरे ।

आइतबारदेखि संसदमा सुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारको काम गर्ने शैली र गतिबाट जनताले ठगिएको महसुस गरेको उल्लेख गरे । उनले महङ्गी बढेको, भष्टाचार बढेको महालेखा र ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदनले देखाएको उल्लेख गरे ।

एक वर्षको नीति तथा कार्यक्रम भनिएपनि दुई, चार वर्षदेखि पच्चिस वर्षसम्मका कार्यक्रम समेटिएको बताउँदै उनले स्रोत साधन र विधीको टुङ्गो नभएको देशमा फगत नारामा मात्र सिमित हुने कुरामा कुनै शंका नभएको उल्लेख गरे ।

देउवाले यतिबेला सक्नुपर्ने मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको, माथिल्लो तामाकोसी अझै बन्न नसकेको बताउँदै काँग्रेसले सुरु गरेको भेरी बबई डाइभर्सन आफैले सुरु गरेको जसरी सरकार प्रस्तुत भएको कटाक्ष गरे ।

बुढी गण्डकी जलबिद्युत आयोजनालाई नेपालीले बनाउने आफ्नो सरकारको निर्णयलाई उल्टाई सरकारले खेलवाड र घात गरेको बताउँदै देउवाले ५ वर्षअघि प्रधानमन्त्री ओलीले अब कोही पनि विदेश जानुपर्दैन भनेको स्मरण गराउँदै अहिलेसम्म कति रोजगारी सिर्जना भयो भन्दै प्रश्न गरे ।

देउवाले सरकारले रोजगारी कार्यक्रम सिर्जना गर्न सरकार असफल रहेको भन्दै भने–‘आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने भनिएको छ, तामझामपूर्वक गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एउटा पनि रोजगारी सिर्जना भएको छैन । मेरो पालामा ल्याइएको सामाजिक सुरक्षा ऐनलाई आफैले ल्याएको जसरी प्रचार गरिएको तर त्यसको सफल कार्यान्वयन गर्न सरकार गम्भीर देखिएको छैन ।’

निर्मला पन्तको बलात्कार र हत्यामा सरकारले नै प्रमाण लुकाएको भन्ने जनतामा शंका स्थापित भएको उनले बताए ।

देउवाले युवा वैज्ञानिकहरुलाई अघि बढाउन आफूले ल्याएको न्यानो स्याटेलाइट कार्यक्रमलाई यो सरकारले आफैले गरेको बकम्फुसे दावी गरेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने भनेर नारा दिएपनि सरकार आफै भ्रष्टाचारको तानाबाना बुनिरहेको दावी गरे ।

देउवाले नीति तथा कार्यक्रममाथि आलोचना गर्दै भने–‘चीन भारत जोड्ने रेल दुई वर्षभित्र जोड्ने भनेको छ तर डिपिआर खर्चको बारेमा सरकार आफै अन्यौलमा छ । रेलको निर्माण अनुदानमा मात्र निर्माण हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । राणाकालदेखि चलेको स्टिमरलाई आफ्नै पालादेखि चलेको भनेर झुक्याइएको छ । तोकेको समयमा विकासका काम सम्पन्न हुन सकेको छैन । वैशाख सम्मको पूँजीगत खर्च ३८ प्रतिशत मात्र भएको छ ।’

देउवाले सरकार परराष्ट्र मामिलामा विमस्टेक, भेनेजुवला र होली वाइन प्रकरणमा कमजोर बनेको बताए ।

सरकारको नीति तथा कार्यक्रममा दिइएको सफलताको फेरिहस्त झुटो सावित भएको बताउँदै उनले अघिल्लो पटक ल्याएको नीति तथा कार्यक्रमले कुनै नतिजा नदिएकोले यो वर्ष ल्याएको कार्यक्रमले पनि कुनै नतिजा नल्याउने देउवाले बताए । नेपाली कांग्रेसले गरेको नीति तथा कार्यक्रम संशोधन प्रस्तावमा समर्थन गर्न पनि उनले आग्रह गरे ।