४८ घण्टाका लागि बन्दजमुनाहा नाका, साेमबार साँझबाट खुल्ने
भारतमा जारी १७ औं लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सिमा जमुनाह नाका बन्द गरिने भएको छ । ७ चरणमा सम्पन्न हुने लोकसभाको निर्वाचन अन्तरर्गत पाँचौं चरणमा आगामी २३ गते बाँकेसँग सिमा जोडिएको उत्तरप्रदेश प्रदेशको बहराइचमा निर्वाचन हुदैछ ।
सोही निर्वाचनलाई मध्यनगर गर्दै आज साँझ ६ बजेदेखि ४८ घण्टाका लागि नेपाल भारत सिमाना बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार एक सुचना जारी गरेर भारतमा हुन भइरहेको निर्वाचनलाई मध्यनगर गर्दै सिमा नाका बन्द गर्न लागिएको जानकारी दिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार ४८ घण्टाका लागि सीमा नाका बन्द गर्न लागिएको जानकारी दिए । बिरामी, एम्बुलेन्स लगायत आकस्मिक आवतजावतका लागि दुवै देशका अधिकारीबीच समन्वय गरेर आवतजावत गर्नसकिने उनले बताए ।
सिमाना शिल गरेको समयमा दशगजामा नजान जिल्ला प्रशासन कार्यालय बाँकेले सबैलाई आग्रह गरेको छ । आज साँझ ६ बजेदेखि भएको नेपाल भारत सिमा बन्द २३ गते साँझ ६ बजेपछि मात्र खुल्नेछ ।
सिमा नाका आज साँझबाट बन्द हुने भएपनी नेपालका लागि प्रेट्रोलियम पदार्थ बोकेका गाडिहरु भने सोमबार साँझसम्म नेपाल प्रवेश गर्न पाउने बताइएको छ । भारतीय निर्वाचन आयोगले ७ चरणमा ३६ राज्य तथा उप–राज्यका ५४२ वटा सिटका लागी ७ चरणमा मतदान मिति तोकेको छ ।
हाल सम्म ४ चरणका तोकिएका मिति अप्रिल ११, १८, २३ र २९ मा गरि ३७३ सिटमा मतदान सम्पन्न भइसकेको छ ।