यार्सागुम्बा संकलनका लागि जेठ १३ गतेदेखि सबै पाटन खुला

डोल्पा ,यार्सागुम्बा संकलनका लागि डोल्पाका सबै पाटनमा जेठ १३ गते खुला गरिने भएको छ। सर्वपक्षीय बैठकले जिल्लाका सबै पाटनमा एकसाथ प्रवेश अनुमति दिने निर्णय गरेको हो।

तीन हजार पाँच सयदेखि पाँच हजार मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा संकलनका लागि प्रवेश अनुमति दिने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

उक्त निर्णय जिल्लाका राष्ट्रिय वन, सामुदायिक वन र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागू हुनेछ। लामो समयसम्म हिमपात भएका कारण यस वर्ष केही ढिलो गरी खुलाइने भएको बताएइएकाे छ ।

यार्सा संकलनका लागि ‘क’ वर्ग राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि पाँच सय, जिल्लाभित्रका नागरिकका लागि दुई हजार र जिल्ला बाहिरका नागरिकका लागि ३ हजार राजस्व शुल्क निर्धारण गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद यादवले जानकारी दिए।

प्रवेश शुल्कबाहेक हरेक व्यक्तिले सेवा शुल्कस्वरूप पाँच सय रुपैयाँ छुट्टै तिर्नु पर्नेछ। यार्सा पाइने वन क्षेत्रभित्र मदिरा, जुवातासलगायत खेलकुद र मनोरञ्जनका कुनै पनि क्रियाकलापमा निषेध गरिएको यादवले बताए। पाटनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आपत्कालीन उद्धार टिम  समेत खटाइने भएको छ।