नयाँ शक्ति र फोरम नेपालबीच एकता हुँदै

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टीबीच एकताको तयारी अन्तिम चरणमा पुगेको छ । भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच आउँदो २३ गते पार्टी एकता गर्नेगरि तयारी अन्तिम चरणमा पुगेको हो ।

स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरेको छ । जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक नेताले बताए । अघिल्लो पटक अन्तिम चरणमा आएर यी दुई पार्टी एकता प्रक्रिया भाँडिएको थियो ।