परिक्षा हलमा चिटैचिटका बोरा
नेपालगन्ज ,देशभर जारी कक्षा १२ को परिक्षामा बाँकेको नेपालगन्जमा भने परिक्षा हल भित्र बोराका बोरा चिट फेला परेका छन् । मंगलबार नेपालगन्ज नगरका विभिन्न परिक्षा केन्द्रको अनुगमनको क्रममा परिक्षा हलमा ठूलो मात्रामा चिटैचिट भेटिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाले गरेको अनुगमनको क्रममा परिक्षा हलबाट बोराका बोरा चिट बरामद गरेको थियो । राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरले कक्षा १२ को परिक्षा परीक्षा मर्यादित र शान्तिपुर्ण रुपमा संचालन गर्ने बताएपनी नेपालगन्जका परिक्षा केन्द्रमा भने संस्थागत रुपमा नै चिट चोराइएको पाइएको छ ।
नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सात वटा परिक्षा केन्द्रबाट तीन कट्टा(थैली) चिट बरामद गरेको थियो ।
उपप्रमुख उमा थापामगर, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिती प्रमुख गोरख थापा र वडा अध्यक्षसहितको टोलीले बरामद गरेको चिट मंगलबार पत्रकार माझ सार्वजनिक गरेको थियो । मंगलबार कक्षा १२ को विज्ञान(फीजीक्स)को परिक्षा भएको थियो ।
नगर प्रमुख डा. राणाले संस्थागत रुपमै चिट चोराउने कार्य भएको दावी गरे । ‘अनुगमनको क्रममा संस्थागत रुपमा नै परिक्षा हलमा चिट चोराउने गरेको पाइएको छ’ उनले भने, ‘पहिलो पटकलाई कारवाही नगरिएपनी बुधबारबाट चिट चोराइएको पाइएमा कारवाही गरिने छ ।’
पहिलो पटकलाई चिट वरामद मात्र गरिएपनि अभिभावकमार्फत विद्यार्थीलाई सचेत रहन उनले आग्रह गरे । ‘शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरेका हौं’ नगर प्रमुख डा. राणाले भने, ‘अनुगमनका क्रममा केही केन्द्राध्यक्षले अनुगमन टोलीसँग बाझाबाझ गरे ।’
उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले निजी विद्यालयका विद्यार्थीले परिक्षा दिइरहेको केन्द्रमा अझैं वेजोग देखिएको भन्दै चिट चोर्ने र चोराउने काम संस्थागत रुपमै भएको बताए ।
‘निजि विद्यालयका विद्यार्थीहरुले परिक्षा दिइरहेको केन्द्रमा अझै बेजोग स्थिती रहेको छ’ उनले भने,‘ अनुगमनको क्रममा परिक्षा हलमा चिट चोर्ने र चोराउने काम संस्थागत रुपमा नै भएको पाइन्छ ।’
स्रोतका अनुसार परिक्षा केन्द्रका केन्द्राध्यक्ष लगायतको मिलोमतोमा सरकारी विद्यालयका भन्दा निजी विद्यालयका विद्यार्थीहरुले परिक्षा दिने केन्द्रहरुमा अमर्यादित रुपमा परिक्षा सञ्चालन भइरहेको छ ।