बेइजिङमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत

गणतन्त्र स्थापना भएको १० वर्षपछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा भव्य स्वागत गरेको छ। बेइजिङको सरकारी मुख्यालय ग्रेट हलमा सैनिक सलामी र तोपसहित चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका हुन्। सिन्ह्वाले पठाएका तस्बिरमा पनि भव्य स्वागतको झलक देखिन्छ।

पहिले पहिले राजाको राजकीय भ्रमण हुँदा चीनले यसैगरी भव्य स्वागत आयोजना गथ्र्यो। गणतन्त्र नेपालका राष्ट्र प्रमुखको पहिलो राजकीय भ्रमणमा पहिले जस्तै स्वागत गरिएको हो।

स्वागतको क्रममा नेपाल र चीनको राष्ट्रिय धुन बजाइएको थियो भने तियानमेन चोकमा दुई देशका झण्डा फहराइएको थियो। चीनको सैन्य टुकडीले राष्ट्रपति भण्डारीलाई सैन्य सलामी दिनुको साथै तोप पड्काएर स्वागत गरेको थियो।

बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बेइजिङ पुगेकी राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सीबीच सोमबार नै दुई पक्षीय भेटवार्ता भएको छ। भेटवार्ताको सुरुमै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन।

दुबै राष्ट्र प्रमुखको उपस्थितिमा नेपाल र चीनबीच पारबहन प्रोटोकल सहित सात वटा सम्झौतामा हस्ताक्षर भएको छ।