नेपाल वायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई निलम्बन गरेको छ।
नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि क्याप्टेन लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि रद्द गर्ने निर्णय गरेको हो ।
प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै लामालाई जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै प्रष्टिकरण सोधेको थियो।
लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन्। प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने निर्णय गरिएको महानिर्देशक संजिव गौतमले जानकारी दिए।
यस विषयमा आफूले अनौपचारिक रूपमा खबर सुनेको तर आधिकारीक नपाएको लामाले जानकारी दिए। औपचारिक जानकारी आएपछिमात्र प्रतिक्रिया दिने उनले बताए।