सरकारलाई नायिका थापाको आग्रह एनसेलको कार्यालयमा ताला लगाउनुस
चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बाैको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरुलाई आह्वान गरेका छन्। चलचित्र निर्मात्रीसमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको भन्दै त्यसविरुद्ध युवाहरु अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन्।
आइतबार काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अभिनेत्री थापाले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै कर नतिरेसम्म कार्यालयमा ताला लगाउन पनि सरकारसँग आग्रह गरिन्। एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यस विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाइ छ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गरे। उनले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरुले असुलीका लागि सर्वसाधारणलाई दबाब दिन आह्वान गर्नु परेको पनि स्पष्ट पारे।
एनसेलबाट करिव ४० अर्ब पूँजीगत लाभकर असुली गर्न बाँकी छ। तर सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन्। उनीहरुले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दबाब दिँदै आएका छन्।