काष्ठमण्डपको ‘धराप’माथि प्रधानमन्त्रीको अभिवादन !

काठमाडौं,पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा पुगेर उनी खटमाथि चढे अनि अभिवादन गरे । त्यहाँबाट उनले पुननिर्माणमा भइरहेको प्रगतिबारे अवलोकन गरे ।

करिव दश हजार मानिसको ज्यान लिने गरी २०७२ बैशाख १२ आएको भूकम्पको कहालिलाग्दो दिन बैशाख १२ गते बिहीबार चार वर्ष पूरा भएको छ । भूकम्पले लाखौ घर तथा सरकारी संरचनाहरु भत्काउँदा त्यसको अझै पूर्णं रुपमा पुनर्निर्माण हुन सकेको छैन ।

सोही सन्दर्भमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, भूकम्प प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली, विभिन्न मन्त्री, सरकारी कर्मचारी र विभिन्न एनजीओ तथा आइएनजीओका पदाधिकारीहरु भूकम्पपछिको पुननिर्माणका बिभिन्न कार्यक्रममा सहभागी भए ।

त्यही क्रममा प्रधानमन्त्री ओलीले पुननिर्माण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गरे । प्रम ओलीले बसन्तपुर दरबार क्षेत्रमा रहेको शिव मन्दिरको उद्घाटन गरे र त्यहाँबाट हुइँकिदै बसन्तपुर पुगे । पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा पुगेर उनी खटमाथि चढे अनि अभिवादन गरे । त्यहाँबाट उनले पुननिर्माणमा भइरहेको प्रगतिबारे अवलोकन गरे ।

पुननिर्माणमा भइरहेको प्रगति, उत्साह र विश्वास हेर्दा आफूलाई निकै खुशी लागेको कुरा उनले काष्ठमण्डप निर्माण समितिको उपस्थिति पुस्तिकामा लेखेका छन् । उनले काष्ठमण्डप निर्माणमा प्रयोग भएका पाँचौ शताव्दीका काठ आज पनि प्रयोग हुन सक्ने अवस्थामा रहेको र उपयोग भएको पाउँदा आफूलाई आश्चर्य मिश्रित खुशी लागेको पुस्तिकामा उल्लेख गरेका छन् । आगामी १८ महिनामा विशेष कार्य सम्पन्न गर्ने अठोटले आफूलाई धेरै खुशी लागेको पनि प्रम ओलीले व्यक्त गरेका छन् ।