श्रीमान्‌ले ज्यूँदै जलाउँदा घाइते कञ्चनको उपचारका क्रममा निधन

काठमाडौँ, श्रीमानले जलाउँदा घाइते भएकी सिरहा नगरपालिका–८ कि कञ्जन मण्डलको उपचारका क्रममा निधन भएको छ।

उनलाई उपचारका लागि शुक्रबार मात्रै काठमाडौंको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।

कञ्चनका श्रीमान् बेचन मण्डल खत्वेले उनलाई जिउँदै जलाएका थिए। उनी घटना लगत्तै फरार भएका थिए। प्रहरीले कञ्चनकी सासुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

एकपक्षले कञ्चनले आफै शरीरमा आगो लगाएको र अर्को पक्षले श्रीमानले जलाएर हत्या गर्न खोजेको आरोप लगाएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिहराका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए।

आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था गम्भीर रहेको खरेलले यसअघि बताएका थिए। धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उनको उपचार हुन नसकेपछि उनलाई साँखु ल्याइएको थियो।