आलोचकहरुविरुद्ध असहिष्णु प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओली सरकारविरुद्ध आलोचना गर्नेहरुमाथि खनिएका छन् । सरकारले विकास गर्न सकेन भन्दै गरिएका आलोचनाहरुलाई उनले आँखामा पट्टी बाँधेकाहरुले विकास देख्न नसकेको भन्दै ‘कटू’ टिप्पणी गरेका हुन् ।
कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा उनले कपडाको नभई चेतनाको पट्टी आँखामा बाँधेकाहरूले अहिलेको सरकारले गरेका विकास नदेखेको बताएका थिए ।
हरेक दिन देश एक कदम अगाडि बढेको दावी गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकको बैंक खाता, विद्यार्थी भर्नाजस्ता धेरै काम भएको जिकीर गरे ।
ज्योतिष पनि निशानामा
आलोचकप्रति असहिष्णु बनेका प्रधानमन्त्रीले ज्योतिषलाई समेत छाडेनन् । दुई पार्टी मिल्ने विषयको भविष्यवाणी गर्न नसक्ने ज्योतिषीले फुट्छ, फुट्दै छ भन्ने ? उनको प्रश्न थियो ।
यसअघि पनि प्रधानमन्त्री ओलीले ज्योतिषहरुप्रति कटाक्ष गरेका थिए ।