नेपाल बन्दको पूर्वसन्ध्यामा जनयुद्धशैलीमा मशाल जुलुश

ठाँउ ठाँउमा बम विष्फाेट

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दकाे पूर्वसन्ध्यामा ठाउँठाउँमा मशाल जुलुससहित प्रदर्शन गरेको छ । नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको आह्वान गरेको छ ।

काठमाडौं उपत्यकासिहत झापा, कपिलवस्तु,कर्णालिका जिल्लाहरु, सुदूरपश्चिमका कैलाली, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, कञ्चनपुरका विभिन्न स्थानहरुमा मशाल जुलुस प्रदर्शन भएका छन् । उनीहरुले पार्टीमाथिको प्रतिबन्ध फिर्ता गर, धरपकड र गिरफ्तारी बन्द गर जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

नेकपाका कार्यकर्ताहरुले काठमाडौंमा समेत सरकारविरुद्ध नारा लगाउँदै मशाल जुलुस बालेको भिडियोहरु सामाजिक संजामा पोष्ट गरिएका छन् ।

बझाङमा जुलुश चैनपुरमा बिस्फाेट

बझाङको सदरमुकाम चैनपुरमा अहिले समय अगाडि नेकपाका कार्यकर्ताहरुले मशाल बाल्नुको साथै सरकारविरुद्ध नारा लगाएका छन् ।

स्थानीयका अनुसार चैनपुरमै शक्तिशाही बम विस्फोट समेत भएको छ । प्रदर्शन लगत्तै विस्फोटको ठूलो आवाज आएको थियो । विस्फोटका क्षतिबारे कुनै जानकारी आएको छैन । विस्फोटको जिम्मा कसैले लगेको छैन ।

केही दिनअघि मात्र नेकपाका जिल्ला सेक्रेटरी भरत मल्ललाई प्रहरीले गिरफ्तार गरेको थियो ।

यसैबीच भोलिको बन्द सफल पार्न नेकपाले अपील गरेको छ । केन्द्रीय समितिको तर्फबाट एक अपील जारी गरेर नेकपाले पार्टीमाथिको प्रतिबन्ध, पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीसहितका नेताहरुको रिहाई, झुटा मुद्दा खारेज, भ्रष्टाचारी र तस्करीलाई कारवाहीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको बताएको छ ।

दुम्कौली बजारमा बम बिस्फोट

महेन्द्रराजमार्गको व्यस्त दुम्कौली बजारमा बम बिस्फोट भएको छ ।

विप्लव नेतृत्वकाे नेकपाले बन्द अाव्हान गरेकाे अघिल्लाे दिन अाज अज्ञात समुहले महेन्द्रराजमार्ग अन्तरगत कावासोती–नारायणगढ खण्डको व्यस्त दुम्कौली बजारकााे राजमार्ग छेउमा बुधबार ५ बजे शक्तिशालि बम बिस्फोट गराएको हो । बिस्फोटबाट मानविय क्षति भएको छैन ।

बन्दकाे प्रचार गर्न विप्लवका कार्यकर्ताले विष्फाेट गराएकाे अाशंका स्थानियले गरेका छन् ।

दुम्कौली बजारको उत्तरतर्फ राजमार्ग किनारमा शक्तिशालि बम बिस्फोट भएको स्थानिय विकास थापाले बताए। चन्द नेतृत्वको नेकपा समूहले बिहीबारका लागि आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा बम बिस्फोट भएका कारण सुरक्षा निकायले समेत बिस्फोट उक्त समूहले नै गराएको हुनसक्ने आशंका गरेको छ।

महेन्द्रराजमार्गको उत्तरमा चौधरी उद्योग ग्राम रहेको छ भने पूर्व र दक्षिणमा बाक्लो वस्ती रहेको छ। प्रहरीले बिस्फोट बारे अनुसन्धान भैरहेको जनाएको छ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बम बिस्फोट घटनाको अनुसन्धानमा प्रहरी खटाईसकेको बताए।