सोलुखुम्बुको लुक्ला बिमानस्थलमा विमान दुर्घटना ४ को मृत्यु

सोलुखुम्बुको लुक्ला बिमानस्थलमा भएको मनाङ एअरको हेलिकोप्टर र समिट एअरको नाइन एन ए एम एच जहाज एक आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । मनाङ एअरका चालक, समिट एअरका कोपाईलट र विमान सुरक्षामा खटिएका २ जना सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरु मध्ये समिट एअरका को-पाईलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको शव पहिचान भएको छ । अन्य २ जनाको पहिचान हुन बाँकी रहेको लुक्ला विमान स्थलका प्रबन्धक इमनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार विमान धावनमार्गबाट चिप्लीएर हेलिप्याड तिर जाँदा ठोक्किन पुगेको हो ।

त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असई सहित ४ जनाको ज्यान गएको भनिएपनि पुरा विवरण आई नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

आईतबार विहान साढे ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका समिटका पाईलट र एयर होस्टेज सहित तीन जना घाईतेलाई श्रीएयरको हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं पठाईएको छ । यात्रुहरु भने सकुसल रहेको प्रहरीले जनाएको छ ।