बारामा फेरि हावाहुरीको ताण्डप घरका छाना उडे,रेडियो र बिजुलीका टावर ढले

एसइई परीक्षा समेत प्रभावित

बारामा मंगलबार बिहान असिना पानीसहित हुरी आएको छ। एक साताअघि आँधीबाट प्रभावित बस्तीमा असिना, पानी र हुरी आउँदा झन् समस्या थपिएको छ। हुरीले केही स्थानमा घरका छाना उडाएको छ। केही ठाउँमा बिजुलीका पोल ढलेका छन्।

स्थानियका अनुसार हुरीले टेन्टमा क्षति नपुर्‍याए पनि केही त्रिपाल भने उडाएका छन्। वर्षा र हुरीपछि चिसो बढेको छ।चिसो बढ्दा प्रभावित क्षेत्रका बालबालिका र वृद्धवृद्धा प्रभावित बनेका छन्। हुरीबाट घरविहीन बनेका पीडितसँग लुगा समेत छैन्। केही प्रभावितलाई आफन्तले लत्ताकपडा ल्याएर सहयोग गरिरहेका छन्।

हुरीले सिमरामा रहेको रेडियो सिमराको टावर ढलेको छ।

एसईई प्रभावित

वर्षासँगै आएको हावाहुरी र असिनाले बारामा एसईई परीक्षा प्रभावित भएको छ। कार्य सञ्चालन तथा लेखा विषयको परिक्षा भइरहेका बेला ठूलो असिनासहितको वर्षा र हुरी आएपछि परीक्षा केही बेर रोकियो। वर्षा र हुरी आएपछि परीक्षा केन्द्रमा परीक्षार्थीलाई केही समय थप गरेर लेख्न दिइएको थियो।सिमरा क्षेत्रका सुपरीटेण्डेन्ट शंकर आचार्यका अनुसार परीक्षा कोठाभित्र हुरीसँगै पानी परेर परीक्षा रोकिएपछि १५ मिनेट थप गरिएको हो।

‘झ्यालबाट पानी र हावा पसेर विद्यार्थीले लेख्न समेत सकेनन्, कोठा नै अँध्यारो भयो,’ आचार्यले भने,’विद्यार्थी धेरै अत्तालिएपछि हामीले रोकिएको समय थप गरेर लेख्न दियौं।’

परीक्षा भवन बाहिर रुखका हांगा समेत भाँचिएर खस्न थालेपछि केही समय त्रासको स्थिति सृजना भएको आचार्यले बताए। सिमरामात्र नभई पथलैया, जीतपुर, डुमरवानालगायतका परीक्षा केन्द्रमा समेत एसईई परीक्षा प्रभावित भयो। ठूलो वर्षासँगै आएको हुरीले जिल्लाको उत्तरी क्षेत्र बढी प्रभावित बनेको छ।

कहाँ के भयो ?

आँधीपीडित भएर त्रिपालमुनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्। फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाई नगरपालिकामा आँधी पीडितको त्रिपालमा वर्षा र हुरीले क्षति पुर्‍याएको छ। खाना पकाउने बेलामा असिनासँगैको हावाहुरी र पानी परेकाले खाना पकाउन समेत समस्या भएको छ। राहत वितरणको काम पनि अवरुद्ध भएको छ।

प्रहरी पोष्टको छानो उडायो

करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ। छानो उडाउँदा प्रहरी प्रभावित भएका छन्। यस्तै, कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ। घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ भने केही स्थानमा बिजुलीका पोल समेत ढलेका छन्। पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। सिमरामा रहेको अल्पाइन गार्मेटमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ। गार्मेन्टको भान्साघरको जस्ताको छानो उडाएको छ।