यसरी धमाधम बेचिन्छ अबैध माछा -पत्तो छैन पशु क्वारेन्टाइनलाई

नेपालगन्जको जमुना नाका नजिकै बिच सडमा अबैध माछा धमाधम बिक्री वितरण भइरहेको हुन्छ । तर सराेकारवाला निकाय देखेर पनि नदेखे झैँ गर्छ । किन हुन्छ यस्तो अबैध माछाको कारोबाररु कस्ले सघाउछ यो कार्यमा ? नेपालगन्ज स्थित पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको टिमले छापा मारेको दुई सातापछि जैसपुरको माछामन्डीका पसलमा भारतीय प्रयास माछा खुलेआम बिक्री भइरहेको छ ।

नेपालगन्जको भन्सार छेउमै रहेको जैसपुरमा–५ मा पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा। सितलबाबु श्रेष्ठ नेतृत्वको टोलीले अनुुगमन गरी ७७ किलो भारतीय माछा बरामद गरेको थियो। बुधबार सोही पसलमा खुलेआम भारतीय प्रयास माछा बिक्री भइरहेको पाइएको छ ।

नेपालगन्जका ठेला पसलमा पनि यो माछाको रोष्ट खुलेयाम बिक्री भइरहेको छ। प्रयास माछा भारतको आन्ध्र प्रदेशबाट कम्तीमा ६ देखि १० दिनमा नेपालगन्जमा आइपुग्छ । यस्तो माछा नसडोस् भनेर फर्मालिन रसायन प्रयोग हुने गरेको भारतको विहार राज्यले पुष्टि गरिसकेको छ। माछामा साना साना काँडा नहुने भएकाले रोष्ट बनाएर खान धेरैले रुचाउने गरेको छ ।

भारतीय माछा नेपाल आयात गर्दा जाँच गर्ने सरकारी अड्डा पशु क्वारेन्टाइन चेक पोस्ट् भारतीय प्रयास माछा विक्री भइरहेको स्थानबाट एक सय मिटरको दुरीमा छ। क्वारेन्टाइन चेक पोस्टका सूचना अधिकारी अम्मरबहादुर शाहीले २० दिनयता भारतबाट माछा नआएकोे दावी गरे। ‘माछा निरोगिताको प्रमाणपत्र ल्याए मात्र भारतबाट माछा ल्याउन दिन्छौं। यो अवधिमा कसैले त्यस्तो प्रमाण देखाएको छैन’, उनले भने, ‘बजारमा भारतीय माछा भए नभएको अनुगमन गर्ने जिम्मा हाम्रो होइन। सम्बन्धित निकाय सक्रिय हुनुपर्छ ।’

क्वारेन्टाइनले निर्यात गर्ने देशबाट जारी भएको आधिकारिक पशु स्वास्थ्य तथा स्यानिटरी प्रमाणपत्र, सम्बन्धित स्थानबाट बस्तु खरिद बिल र निर्यात गर्ने देशको कस्टमबाट जारी कागजात माग गरेपछि नेपालमा माछा ल्याउन पाइन्छ। क्वारेन्टाइनले कडाइ गरेपछि भारतीय माछाको चोरी निकासी पनि बढेको पाइएको छ।