फेरि समातियो ६ किलो सुन, ४ भारतीय पक्राउ

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद गरिएको छ । थाई एयरलायन्सको विमानमार्फत नेपाल भित्र्याउन लागिएको ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको नाम गोप्य राखिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिए । बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाउँदा अहिलेसम्म झण्डै ५ किलो सुन सक्कली भेटिएको एसएसपी भण्डारीको भनाई छ ।

जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने उनको भनाइ छ । थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका छन् । ‘तीन महिलालाई सुन जाँचका लागि पठाएका छौँ’, एसएसपी भण्डारीले भने।

बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीले अनुसन्धान सुरु गरेको छ। यसअघि उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको फर्दाफास भएसँगै विमानस्थलबाट हुने तस्करीको सेटिङ ध्वस्त भएको सुरक्षा अधिकारीले बताउँदै आएका थिए । तर, तस्करी गर्ने समूहले विभिन्न तरिका अपनाएर सुन भित्र्याउने क्रम अझै जारी छ ।