किन गरे मेयर राणाले बागेश्वरी मन्दिरको जग्गा बेच्ने प्रस्ताव ?

नेपालगन्ज स्थित प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको जग्गा बेच्न प्रस्ताव गरिएको छ । बागेश्वरी मन्दिर सञ्चालन गुठीका अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल समशेर राणाले मंगलबार सम्बन्धित सरकारी मन्त्री, अधिकारीहरु बीच औपचारिक रुपमै प्रस्ताव गर्दै भने, ‘बागेश्वरीको सम्पत्तिमा लुट मच्चिइरहेको छ, यो सम्पत्ती बेचेर बैंकमा फिक्स डिपोजिट गरौं र मन्दिरलाई भव्य बनाऔं ।’

राष्ट्रिय गुठी संस्थानले ८७ विगाह जग्गा बागेश्वरी मन्दिरका नाममा रहेको जानकारी दिइरहँदा गुठीका अध्यक्ष डा. राणाले प्रदेश ५ का भूमि, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, सचिव यम नारायण देवकोटा, राष्ट्रिय गुठी संस्थानका नारायण चौधरी, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी लगायतका पदाधिकारीहरु माझ जग्गा बेचेर नगद रकम बैंकमा राख्न प्रस्ताव गरे । मन्दिरको नाममा रहेको जग्गा बेच्न सकियो भने ५० करोड बढी फिक्स डिपोजिट राख्न सकिन्छ’, नगर प्रमुख समेत रहेको गुठी अध्यक्ष डा। राणाले भने, ‘कसैले खान पनि सक्दैन, मन्दिर पनि व्यवस्थित बनाउँदै जान सकिन्छ ।’

८७ विगाह जग्गा छ भनिएको छ तर गुठीमा बार्षिक १४र१५ हजार मात्र आम्दानी देखिन्छ, यहाँ भन्दा मजाक के हुन्छ’, नगर प्रमुख समेत रहेका अध्यक्ष डा. राणाले सम्बन्धित अधिकारीसँग प्रश्न गर्दै भने, ‘यसका कानुनी आधार भन्नुस् हामी जग्गा बेच्न सक्छौं कि सक्दैनौं ?’ अध्यक्ष डा.राणाको प्रश्नलाई राष्ट्रिय गुठी संस्थानका प्रशासक नारायण चौधरीले ‘कन्डिसनल अवस्थामा बेच्न सकिने’ तर्क गरेपछि कार्यक्रममा सहभागी गुठीका पदाधिकारीहरुले ताली समेत बजाए ।

सम्बद्ध स्रोतका अनुसार, गुठीका अधिकांस जग्गा भुमाफियाको कब्जामा छ । जग्गा फर्काउन नसकिने अवस्था बुझिसकेका गुठी अध्यक्ष डा. राणाले कब्जा गर्नेहरुलाई नै वैधानिक रुपमा बेच्न सक्ने बाटो खोजेका हुन् । ‘कब्जा जग्गाको खोजविनका लागि समिति बनाएको छु’, छेउमै रहेकी नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरलाई देखाउँदै नगर प्रमुख राणाले भने, ‘उहाँले धेरै कुरा छानबिन गरिसक्नु भएको छ ।’ डा. राणाले केही दिनमै समितिले प्रतिवेदन सार्वजनिक गर्ने समेत जानकारी गराए ।

जग्गाको विषय उठेपछि कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त योगीले जग्गा छानबिन गर्दा जनताको कि गुठीको हो भन्ने कुरा एकिन गर्न ध्यानाकर्षण गराए । ‘गुठीको जग्गा कहिल्यै पनि व्यक्तिको नाममा भएको रहेछ भने तत्काल बदर हुने कानुनी व्यवस्था छ’, गुठी प्रशासक चौधरीले बागेश्वरी मन्दिरको जग्गाका सबै कागजात गुठी संस्थानमा सुरक्षित रहेको जानकारी दिंदै भने, ‘सम्पूर्ण सम्पत्तिको लेखाजोखा गर्नुस् । कार्यक्रममा गुठी संस्थानका निवर्तमान अध्यक्ष लक्ष्मण ज्ञवालीले बागेश्वरी मन्दिरको बृहत व्यवस्थापनका लागि मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको कतिपय शर्त अगाडि आएको खुलासा गरे ।

‘मूल महन्तका शर्तलाई गुठीको औकात अनुसार व्यवस्थापन गरेर जानेतर्फ गम्भीर बन्नुपर्छ’, निवर्तमान अध्यक्ष ज्ञवालीले लामो समयदेखि छिन्नभिन्न रहेको गुठी संस्थानलाई आफ्नो नेतृत्वले ट्रयाकमा ल्याएको जानकारी दिंदै त्यतिबेलै बागेश्वरी गुठी व्यवस्थापन गरेको उल्लेख गरे । उनले बागेश्वरीको सम्पत्ति एकिन गर्न मूल महन्तको साथ रहेको पनि प्रष्ट पारे । ‘सम्पूर्ण सम्पत्ति एकिन गरी आम्दानी व्यवस्थित गर्न सके बागेश्वरीलाई बृहत ढंगले अगाडि बढाउन सकिन्छ’, उनले भने ।

निवर्तमान अध्यक्ष ज्ञवालीले सरकारले गुठी संस्थानलाई तिर्नुपर्ने रकम नै ३५ अर्ब बढी रहेको खुलासा गर्दै सरकारी सहयोग बिना गुठी संस्थान चल्न नसक्ने अवस्थामा रहेको बताए । संस्थानका प्रशासक चौधरीले देशभरका २३ सय गुठीलाई संस्थानले नियमन गर्ने जानकारी गराए । ती मध्ये ७ सय ५० वटा मन्दिर गुठी मार्फत सञ्चालनमा रहेको जानकारी दिंदै संस्थानका प्रशासक चौधरीले सबै गुठी सञ्चालनका स्रोत जग्गा रहेको बताए ।

त्यही जग्गा पनि कब्जा हुँदा गुठी सञ्चालनमा समस्या छ’, प्रशासक चौधरीले भने । प्रदेश सरकारका सचिव यम नारायण देवकोटाले गुठी हेर्ने जिम्मेवारी प्रदेश सरकारलाई प्राप्त भैरहेकाले प्रयोजन अनुसार सहयोगको नीति अघि सारिएको बताए । भूमि, कृषि तथा सहकारी मन्त्रालयका सचिव देवकोटाले गुठीहरुलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे प्रदेश सरकार क्रियाशिल रहेको बताए । उनले प्रदेश ५ अन्तर्गतका विभिन्न गुठीहरुलाई सहयोग गर्न प्रदेश सरकारले डेढ करोड बजेट विनियोजन गरेको जानकारी पनि दिएका छन् । बागेश्वरी गुठीका उपाध्यक्ष विजय कुमार गुप्ता, सचिव गोपाल अधिकारी लगायतले सरकारी सहयोग अपेक्षित रुपमा प्राप्त हुन सके बागेश्वरीको स्वरुप परिवर्तनका लागि गुठी सक्रिय रहेको बताए