ढुंगा हान्ने र न्यायको अधिकार कसलाई छ ?
एक दिन एकजना सन्त बजारको बाटो हुँदै आफ्नो गन्तव्य तिर जाँदै थिए । बजारको बीचमा एउटा ठूलो चौक थियो, जहाँ धेरै मान्छे जम्मा भएर खैलाबैला गरिरहेका थिए । मान्छेहरुको भिड र खैलाबैला थाहा पाएपछि ती सन्तलाई पनि के भइरहेको रहेछ हेर्न मन लागेर नजिकै गएछन् ।
भिडको बीचमा एक महिला थिइन । उनी पीडाले चिच्याईरहेकी थिइन । सारा भिडले उनीमाथि चिच्याउदै ढुङ्गा बर्साइरहेको थियो । उनीहरु भन्दैथिए- ‘यो आइमाई बेश्या हो । यसलाई हाम्रो समाजमा बाँच्ने हक छैन । यसलाई ढुङ्गाले हानेर मार्नुपर्छ र इश्वरले हामीलाई मार्नको निमित्त आदेश दिनुभएको छ ।’ उक्त समाजमा कोही आइमाईलाई बेश्याबृत्ती गरिरहेको अवस्थामा फेला पारे चौकमा ल्याएर मार्ने सामाजिक चलन पनि थियो ।
उक्त अवस्थाकै बीच ती सन्त पनि भिडमा मिसिएको अन्य मानिसहरुले पनि देखे । उनीहरुलाई सन्तले के भन्दा रहेछन भनि जाँच्न पनि मन लागेछ । तिनीहरु मध्येबाट एक जो शिक्षित र टाठोबाठो देखिन्थ्यो, उसले सोध्यो- ‘ओ सन्त जी, भन्नुहोस यो नारीलाई के सजाय दिने हो? तपाई त ईश्वरको सेवक हुनुहुन्छ, भन्नुहोस यसलाई के सजाय दिने हो ?’
सन्तले नम्र भएर सोधे – यी नारीले के गल्ती गरिन र, तपाईहरु यसरी मार्न खोज्दै हुनुहुन्छ ?
भिडले फेरि चिच्याउदै भन्यो- ‘यो आइमाईलाई हामीले बेश्याबृत्ती गर्दागर्दै समातेका हौ र यसलाई हाम्रो कानुन अनुसार बीच चौकमा ल्याएर ढुङ्गाले हानेर मार्दैछौ । लौ भन्नुहोस यसलाई दिइएको सजाय उचित छ वा छैन ?’
यो सबै देखेर सन्तलाई ती नारीप्रति दया जागेर आयो । उनी उसकाे प्राण जोगाउन चाहन्थे तर समाजले बनाएको कानुनको विरुद्ध पनि जान सक्दैनथे । भिड चिच्याइरहेको थियो । यस्तैमा ती सन्तले जोडले चिच्याएर ‘सबैजना चुप लाग्नुस र मेरो कुरा सुन्निहोस’ भने । सारा भिडको स्वरभन्दा पनि ती सन्तको स्वर उच्च सुनिएको हुनाले भिड स्तब्ध हुँदै चुप लाग्यो । तर, पीडामा छट्पटाईरहेकी ती नारीको आर्तनाद रोकिएको थिएन ।
ती सन्त अझ जोडले चिच्याउँदै भन्न थाले- ‘हो, यी नारीले पाप गरेकी छन किनभने यिनले बेश्याबृत्ती गरिन । सो अनुसार यिनी चौकमा ल्याएर ढुङ्गा हानेर मारिनै पर्छ । तर, ढुङ्गा त्यसले मात्र हानोस जस्ले जीवनभर ब्यभिचार गरेको छैन, पवित्र जीवन बाँचेको छ ।’
त्यसपछि भिडमा गुनगुन, खासखुस कुराहरु भए । एकछिन पछि बिस्तारै भिड हराएर तितरबितर हुन थाल्याे । वास्तवमा त्यहाँ जति जम्मा भएका थिए, सबैजना कहि न कहि कुनै न कुनै ब्यभिचार गरेका थिए र कोही पनि पवित्र थिएनन । त्यसपछि ती सन्तले नारीतर्फ फर्केर भने- ‘तिमी आफ्नो ठाउँमा जाउँ र मेहनत गरेर खाउ, फेरि यस्तो काम नगर ।’
यो कथा पढिसकेपछि तपाईहरुमा पनि विचारको आँधीबेहरी आयो होला । वास्तवमा यसकाे सन्देश के हो ? यसलाई आजको सन्दर्भमा कसरी बुझ्ने ? यही आजकै सन्दर्भमा एउटा सानो कोशिस गर्दछु । पढिदिनुहोला ।
आज देशमा नेकपाको दुई तिहाइ सहितको सरकार छ । यो पार्टी एमाले र माओवादीको एकता पश्चात् बनेको हो र यसकाे नेतृत्वमा केपी ओली र प्रचण्ड छन भन्ने कुरो त जगजाहेर नै छ । ओली झापा सशस्त्र आन्दोलन, त्यसपछि जेल हुँदै राजनैतिक यात्रा कायम राख्दै आजको अवस्थासम्म आएका हुन भने प्रचण्ड त्याे भन्दा पनि भीषण सशस्त्र युद्धको पृष्ठभूमी र शान्ति सम्झौताको लौरो टेकेर यो अवस्थासम्म आइपुगेका हुन् ।
प्रचण्डले नेतृत्व गरेको पार्टीबाटै विद्रोह गरेर गएको एक समूह नेकपा नै गठन गरी अहिलेको व्यवस्था नमान्ने शक्तिको रुपमा दरिएको छ । उनीहरु वर्तमान सत्ताको विरुद्ध त छन तर सशस्त्र युद्ध घोषणा गरिहालेको स्थिति भने छैन । तैपनि ओली र प्रचण्ड विप्लवहरुलाई उहीँ कथामा उल्लेख गरिएको नारीलाई झै झम्टिरहेका छन, चिथोरीरहेका छन । सायद आफ्नो विगतको पृष्ठभूमी र इतिहासलाई बिर्सिएकाे झै लाग्छ ।
उनीहरुको चिच्याइ सुन्दा राज्य विरुद्ध हिंसात्मक आन्दोलनको घोषणा नगरे पनि विप्लव नेतृत्वको नेकपा पार्टीको कतिपय कार्यक्रम हिंसात्मक छन । यसमा विवाद छैन । उनीहरु कथाको पात्र नारी जस्तो पनि होइनन, त्यो त प्रतिकात्मक मात्र हो । वास्तवमा उनीहरु राजनीतिक आन्दोलनका सिपाही हुन । तर, अहिंसाप्रतिको प्रेम तिनले दर्शाएको स्वभाविक र अपेक्षित हुन्छ, जो कहिल्यै हिंसात्मक क्रियाकलापमा संलग्न नभएका हुन्, जसको सिङ्गै जीवन–पद्धति र जीवन दर्शन नै अहिंसात्मक होस् ।
तपाईहरु जाँचेर हेर्नुहोस कि ओली, प्रचण्ड, बादलको पृष्ठभूमी र इतिहासले के पुष्टि गर्छ भनेर । युद्ध र रगतको आहालमाथि हातमा तरबार लिएर उभिदै गौतम बुद्धको उपदेश भट्टयाएको सुहाउँदैन । अर्कोतिर बेश्याबृत्तीको आरोपमा समातेकी नारीलाई ढुङ्गाले हानेर मार्ने जस्तो सजाय विप्लवलाई दिनको निम्ति पनि उनीहरुलाई नैतिक अधिकार छैन । राजनीतिमा पनि हिंसाको विरोध र अहिंसाको पक्षपोषण गरेको तिनीहरुलाई मात्र सुहाउँछ जो कहिल्यै हिंसाको पक्षमा थिएनन ।
अहिले सरकारमा भएकाहरु गान्धी र बुद्धको जस्तो इतिहास बोकेका त होइनन । गृहमन्त्री बादलकै कुरो गर्ने हो भने केही वर्ष अघिसम्म मोहन वैद्य र नेत्र विक्रम चन्द विप्लवसँग एउटै पार्टीमा रहेर ठूल्ठूला क्रान्तिको कुरा गर्थे । तिनै बादल आज विप्लवहरुलाई दमन गरेर सिध्याउने रणनीतिमा लागेका छन् । विध्वंश र हिंसा गरिसकेपछि आफू सुरक्षित हुनकै निमित्त मात्र अहिंसाको साहारा लिन खोज्दा हुँडारले शान्तिगीत गाएजस्तो हुँदो रहेछ ।
त्यसकारण यतिबेला सचेत नागरिक, बुद्धिजीवी, पत्रकार, कलाकारहरुको भूमिका बढेर गएको छ । साँच्चै उनीहरु माथिको कथामा उल्लेख भए अनुसारको सन्तको भुमिका निर्बाह गर्न सक्छन । हो देशलाई युद्धको भुमरीबाट जोगाउनको निम्ति, शान्ति र समृद्धिको निम्ति सबैको अधिकार र पहिचान सहितको शान्ति स्थापना हुनैपर्छ । यसकाे निम्ति सबैले आफ्नो हठ छोडेर अग्रगमनको निम्ति तयार होउन । नागरिक समाज, बुद्धिजीवी, पत्रकार, कलाकार आदि पनि कथाको पात्र सन्त जस्तै भूमिका निर्बाह गरून् ।