युधिष्ठिरले यसरी बचाएका थिए पाण्डवलाई !
पाण्डवहरु वनवास कसेका बेलाको कुरा हो । एक दिन युधिष्टिरको आज्ञाले सहदेव पानी लिन गए, तर उनी फर्केर आउन ढिका गरे । त्यसपछि सहदेवको खोजीगर्न र पानी ल्याउन नकुल गए, तर उनी पनि फर्केनन् । त्यसपछि अर्जुन र भीम पनि गए, तर उनीहरु पनि फर्केनन् । अन्त्यमा भाइहरुको खोजी गर्न युधिष्ठिर आफैँ निस्किए । उनले अलिक परको पोखरीको डिलमा आफ्ना चारै भाइहरु अचेत भएर लडेको देखे । उनी भाइहरुलाई अँगालो मारेर रुन लागे ।
केही क्षणको विलापपछि युधिष्ठिरले अलि गम्भीर भएर विचार गरे— यो त कुनै मायाजालजस्तो छ । मेरा भाइहरुको शरिरमा कतै कुनै घाउ पनि छैन । मुखमण्डलमा पनि केही परिवर्तन भएको छैन । आनन्दसँग सुतिरहेका देखिन्छन् । नकि कुनै शत्रुको पाइला पनि देखिँदैन । पक्कै पनि यो कसैको षड्यन्त्र हुनुपर्छ ।
यस्तो विचार गर्दै युधिष्ठिर पहिले पानी पिउने विचारले पोखरीमा ओर्लिए । त्यसैबेला त्यहाँ एउटा यक्षको वाणी गुन्जियो—सावधान । तिम्रा भाइहरुले मेरो कुरा नमान्दा तिनीहरुको यस्तो हाल भएको छ । तिमीले पनि त्यही भूल नगर्नू । यो पोखरी मेरो अधीनमा छ । पहिला मेरा प्रश्नको उत्तर देऊ, अनि मात्रै पोखरीमा ओर्लेर पानी पिउनू ।
युधिष्ठिरले यक्षको प्रस्ताव स्वीकार गर्दै प्रश्न गर्न भने । यक्षले प्रश्न गर्न लागे ।
प्रश्न—कसको प्रेरणा पाएर सूर्य उदाउँछन् ?
उत्तर—ब्रह्म परमात्माको ।
प्रश्न—मनुष्यको असल साथी को हो ?
उत्तर—धर्म नै मनुष्यको असल साथी हो ।
प्रश्न—कुन शास्त्रको संगतले मान्छे विद्धान बन्छन् ?
उत्तर—शास्त्र हैन, सज्जनको संगतले मान्छे विद्धान् बन्छन् ।
प्रश्न—भूमिभन्दा पनि भारी के छ ?
उत्तर—सन्तानलाई कोखमा राख्ने आमा भूमिभन्दा पनि भारी हुन्छिन् ।
प्रश्न—आकाशभन्दा ठूलो को छ ?
उत्तर—पिता ।
प्रश्न हावाभन्दा पनि तेज हिड्ने के हो ?
उत्तर—मन ।
प्रश्न—सबैभन्दा तुच्छ वस्तु के हो ?
प्रश्न—चिन्ता ।
प्रश्न—विदेश जानेको असल साथी को हो ?
उत्तर—विद्या ।
प्रश्न—घरमा बस्ताको असल साथी को हो ?
उत्तर—पति–पत्नी ।
प्रश्न—मरणेपरान्त पनि सँगै जाने साथी को हो ?
उत्तर—कर्मफल, किनकि कर्मफलले मरेपछि पनि जीवात्मालाई छाड्दैन ।
प्रश्न—भाँडाहरुमा सबैभन्दा ठूलो भाँडो के हो ?
उत्तर—भूमि नै सबैभन्दा ठूलो भाँडो हो, जसमा सबै कुरा अटाउँछ ।
प्रश्न—सुख के हो ?
उत्तर—मनको अनुभूति ।
प्रश्न—के छुटेपछि मानिस सर्वप्रिय बन्छ ?
उत्तर—अहम्भावबाट उत्पन्न गर्व छुटेपछि ।
प्रश्न—कुन चीज हराएको राम्रो ?
उत्तर—दुर्गुण ।
प्रश्न—कुन चीज गुमाएपछि मान्छे आफैँमा धनी बन्छ ?
उत्तर—लोभ ।
प्रश्न—संसारमा सबैभन्दा ठूलो आश्चर्य के छ ?
उत्तर—आफ्नै आँखा अगाडि अरु मरेको देख्दादेख्ख्तै पनि मान्छेहरु आफूचाहिँ अमर हुन चाहन्छन् ? यही नै सबैभन्दा ठूलो आश्चर्य हो ।
यक्षले गरेका सबै प्रश्नहरुको युधिष्ठिरले उत्तर दिए ।
युधिष्ठिरको उत्तरबाट सन्तुष्ट भएपछि यक्षले भने— यी तिम्रा मरेका भाइहरुमध्ये म एउटालाई बचाइदिन्छु । भन म कसलाई बचाइदिऊ ?
युधिष्ठिरले भने—मेरो कान्छो भाइ नकुललाई बचाइदिनुहोस् ।
यक्षले भने—तिमीले पछि दुर्योधनसँग युद्ध गर्नुपर्ने हुन्छ, दश हजार हात्तीको बल भएका भीमसेन अथवा गण्डिवधारी अर्जुनलाई छाडेर तिमी किन नकुललाई बचाएन चाहान्छौ ?
युधिष्ठिरले भने—यक्षराज । मनुष्यको वास्तविक रक्षा न भीमबाट हुन्छ, न त अर्जुनबाट । धर्मले नै वास्तविक रुपमा सबैको रक्षा गर्दछ । धर्मविमुख हुनेहरुको परलोक बिग्रन्छ । मेरो बुबाका दुई पत्नीमध्ये कुन्तीको एक पुत्र म बाँचेको छु भने माद्रीका तर्फबाट पनि एउटा पुत्र बाँचोस भन्ने म चाहान्छु । त्यसैले तपाईँले नकुललाई नै जीवित गरिदिनुहोस् । युधिष्ठिरको धर्म र न्याययुक्त कुरा सुनेर यक्षले खुसी हुँदै भने—तिम्रा चारै भाइ बाँचेर उठ्नेछन् । चारै भाइ उठे ।
सन्देशः दैवले नि विपत्तिकै बेला परिक्षा लिन्छन् । जस्तै विपत्तिमा पनि धैर्य गुमाउनुहुँदैन । आफूले धर्मको रक्षा गरियो भने धर्मले पनि आफ्नो रक्षा गर्दछ ।