अख्तियारद्वारा पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ वर्ष कैद ७८ लाख बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध ११ वर्ष कैद र ७८ लाख बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा भएको अनियमितताबारे अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै ७८ लाख घुस लिएको अभियोगमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

संवैधानिक आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो । पाठकसहित उनलाई घुस दिने कलेज सञ्चालक लम्बोदरकुमार न्यौपानेलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) ‘ज’ मा ५० लाखदेखि एक करोड रुपैयाँसम्म घुस लिनेलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

सोही ऐनका दफा २४ मा संवैधानिक अंगका पदाधिकारीलाई थप ३ वर्ष कैद सजाय हुने उल्लेख छ । सोहीअनुसार पाठकविरुद्ध ११ वर्ष कैद, ७८ लाखको सम्पत्ति जफत र ७८ लाख जरिवाना माग गरिएको छ ।

१०-२० हजार घुस लिनेलाई अख्तियारले करिब महिना दिनसम्म थुनामा राखेर मुद्दा चलाउने भए पनि पाठकलाई भने फरार अभियुक्तका रूपमा मुद्दा दायर गरी केही सहुलियत प्रदान गरेको छ । आफूले लिएको घुस फिर्ता गर्ने भनेर पाठकले बोलेको भिडियो, फोन संवाद र साक्षीहरूको भनाइलाई प्रमुख प्रमाणका रूपमा अख्तियारले अदालतमा पेस गरेको छ । पाठकले भने आफूले घुस लिएको अस्वीकार गरेका छन् ।

घुस लिएको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि पाठकले ३ फागुनमा राजीनामा दिएका थिए । सत्तारुढ नेकपाका सांसदहरूले महाअभियोग लगाउने तयारीपछि उनले राजीनामा दिएका थिए । राजीनामा दिएको अवस्थामा संवैधानिक आयोगका पूर्वअधिकारीमाथि आयोगले छानबिन गर्न सक्ने कि नसक्ने संवैधानिक अस्पष्टतापछि अख्तियारले महान्यायाधिवक्ता कार्यालयसँग राय लिएको थियो ।

अनुसन्धान गर्न सक्ने महान्यायाधिवक्ता कार्यालयको रायपछि ७ फागुनमा अख्तियारले सहसचिवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन सुरु भएको ३५ औँ दिनमा मुद्दा दायर भएको हो ।

अख्तियारले पाठकको बयान लिएको छ भने न्यौपाने एक दिन बयान दिएर फरार भएका थिए । २७ फागुनमा बयान दिन गएका उनी भोलिपल्टै भारत भागेका थिए । उनको म्याद तामेल भइसकेको छ ।

पाठकलाई राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झाले घुस दिएका थिए । कलेजका सञ्चालक लम्बोदर न्यौपाने र तत्कालीन आयुक्त पाठकबीच झाले मध्यस्थकर्ताको भूमिका निभाएका थिए । उनले मिठाईको प्याकेटमा डेढ वर्षअघि घुस दिएका थिए ।

पैसा लिएर काम नगरेपछि झाले कराँते खेलाडी ध्वजमान मोक्तानलाई प्रयोग गरी पाठकले घुस लिएबारे कुराकानी गरेर गोप्य रूपमा भिडियो खिचेका थिए । भिडियो सार्वजनिक गरिदिने भनेर धम्क्याउँदासमेत पाठकले पैसा फिर्ता नदिएपछि उनीहरूले घुस प्रकरण बाहिर ल्याएका थिए ।

घुस दिने व्यक्ति दोषी हुने भए पनि अख्तियारको अनुसन्धानमा सहयोग गरेकाले उनीहरूलाई मुद्दा दायर गरिएको छैन, साक्षी बनाइएको छ । उनीहरूले अख्तियारलाई पाठकको भिडियोसमेत उपलब्ध गराएका थिए । अनुसन्धानमा सहयोग गरेमा मुद्दा नचल्ने प्रावधान भ्रष्टाचार निवारण ऐनमा रहेको छ ।

करोडौँ सम्पत्ति रहेको सामुदायिक कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने पक्षले निजी बनाएर सम्पत्ति बेच्न खोजेको थियो । तर, सञ्चालकबीच नै विवाद भएपछि सो मुद्दा अख्तियारसम्म पुगेको थियो । दीपक भट्टराईलगायत सञ्चालकले अख्तियारमा उजुरी दिएका थिए । सो उजुरी तामेलीमा राखिदिने भन्दै पाठकले घुस लिएका थिए ।

७८ लाख घुस प्रकरणसँग १५ लाख घुस लेनदेनको सम्बन्ध नदेखिएकाले छुट्टै अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता कोइरालाले बताए । उनले घुस लिएको पुष्टि हुने प्रमाण पनि अख्तियारले संकलन गरिसकेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन दिलाउने भन्दै उनले घुस लिएका थिए । शुभनारायणविरुद्ध ६ वर्षअघि पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो । जसमा उनले सफाइ पाएका थिए । सम्बन्धन बापत उठाउनुपर्ने ४ करोड २८ लाख हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको थियो ।