यसरी च्यातियो बाँकेमा भु–माफियाको जालो

सरकारी जग्गा निजी नाममा गर्दै हत्याउन सक्रिय एउटा गिरोहलाई बाँके प्रहरीले अनुसन्धानको दायरामा लिएको छ । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सघाउने सरकारी कर्मचारीहरु समेत गरी ११ जनालाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

त्यसक्रममा पक्राउ पुर्जी जारी गरिएका केही सरकारी अधिकारीको खोजी प्रहरीले गरिरहेको स्रोतले जनाएको छ । बाँके प्रहरीका अनुसार, मालपोत कार्यालय नेपालगन्जका ६ जना र बर्दियाका दुई जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मालपोत कार्यालय बाँकेका अधिकृत पुष्पा श्रेष्ठ सहित तीन सुब्बा र दुई जना कम्प्युटर अपरेटर छन् । बर्दियाबाट दुई जनालाई पक्राउ गरेको बाँके प्रहरीले एक जना अधिकृत विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । ‘पक्राउ पूर्जी जारी गरिएका व्यक्ति जिल्ला बाहिर गएको बुझिएको छ’, प्रहरी स्रोतले भन्यो ।

पक्राउ पर्नेमा लेखन्दार विर बहादुर खड्का पनि छन् । खड्कालाई प्रहरीले दुई दिनअघि नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ । उनीसँग लिएको बयान र तथ्यका आधारमा प्रहरीले थप एक्सन लिएको बुझिएको छ ।

प्रहरी स्रोतका अनुसार, बाँकेमा सरकारी जग्गा निजी व्यक्तिका नाममा गराइएको तथ्य फेला परेपछि त्यसमा संलग्नताको आशंका भित्रका मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

‘अनुसन्धानको दायराभित्र कतिपय जनप्रतिनिधि पनि पर्ने देखिन्छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बाँके र बर्दियामा मिनाह जग्गा व्यक्तिका नाममा गर्ने गिरोह नै सक्रिय भएको देखिन्छ ।’

सम्बद्ध स्रोतका अनुसार, नेपालगन्ज–३ का खैरूल हसन अन्सारीलाई हत्यामा संलग्नताको आशंकामा पक्राउ गरेपछि उनीहरुको एउटा समूह सरकारी जग्गालाई व्यक्तिका नाममा गर्न मालपोत कर्मचारीहरुसँगै सक्रिय रहेको खुलासा भएको हो । अन्सारीका साझेदार भारतीय नागरिक जुनेद अन्सारी एकाएक बेपत्ता भएपछि जयसपुर स्थित उनकी नेपाली पत्नीले खोजीका लागि दिएको उजुरीका आधारमा प्रहरी सक्रिय भएको थियो ।

‘प्रहरीले आशंकित सबै ठाउँहरु खोज्दै जाँदा लेनदेनको विषयलाई लिएर विवाद बढ्दै अपहरण र हत्यासम्मको आशंका नजिक तथ्य फेला पारेको थियो’, स्रोत भन्छ, ‘अनुसन्धान गर्दै जुनेद बेपत्ता भए भनेर प्रहरीमा उजुरी परेकै दिन भारत स्थित उनको गाउँ नबाबगन्जमा वेवारिसे शव फेला परेको रहेछ ।’

बाँके प्रहरीले जुनेदकी श्रीमतिलाई घटनास्थल पुर्याउँदा भारतीय प्रहरीले दाहसंस्कार गरी पहिचानका लागि राखेको कपडाका आधारमा जुनेद नै भएको खुलेको थियो । त्यसअघि प्रहरीले अनुसन्धानका विभिन्न चरणमा जुनेद र फैरुल हसन बीच सरकारी जग्गा व्यक्तिका नाममा गर्ने भैरहेका प्रयासहरु तथ्य संकलन गरिसकेको थियो ।

‘फैरुलले आफ्ना मृत बाबुका नाममा सिक्टा सिंचाईको जग्गा नामसारी गरिसकेको खुलेको छ’, प्रहरी भन्छ, ‘पहिले मृत बाबुका नाममा र पछि आमाका नामसारी गर्न खोज्दा विवाद उत्पन्न भएको देखिन्छ ।’ बर्दियाको नेउलापुर स्थित ६ विगाह जग्गा पनि त्यसैगरी व्यक्तिका नाममा गर्न प्रक्रिया निकै अगाडि बढिसकेको तथ्य प्रहरी हातमा परिसकेको छ ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले ८ जना सरकारी कर्मचारी सहित ११ जना पक्राउ गरिएको बताए । ‘अनुसन्धानकै चरणमा भएकाले तत्काल यसबारे धेरै कुरा गर्दा अनुसन्धान प्रभावित हुनसक्छ’, प्रहरी उपरीक्षक पौडेलले भने, ‘९ महिना पहिले नै एउटा सरकारी जग्गा व्यक्तिका नाममा गरिसकेको तथ्यबाट धेरै अपराध कर्म खुल्दै गएको छ ।’

प्रहरी उपरीक्षक पौडेलले गत माघ २१ गतेदेखि सुरु गरिएको अनुसन्धान निष्कर्षमा नपुग्दै अझै बोलीहाल्ने अवस्था नरहेको बताए । माघ २१ गते भारतीय नागरिक जुनेद बेपत्ता भएको उजुरी बाँके प्रहरीमा परेपछि प्रहरीले गरेको अनुसन्धानमा लहरो तान्दा पहरो हुँदै अगाडि बढिरहेको छ । दैनिक नेपालगन्जबाट