प्रतिबन्ध केपी ओली र बादलमाथि पनि लगाइने विप्लवको घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध ुकेपी–बादल कम्पनीको कुकर्मस भएको बताएको छ । प्रतिबन्धपछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले आफ्नो पार्टीलाई राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक र हास्यास्पद निर्णय गरेको भन्दै सरकारको निर्णयको निन्दा गरेको छ ।
‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो’, चन्दाको औचित्य पुष्टि गर्दै विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं ।
कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो ।
उनले वक्तव्यमा अगाडि भनेका छन्, ‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ । झापा विद्रोह र दस वर्षको महान् जनयुद्धका हजारौँ सहिद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका वैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ ।’
विप्लवले अगाडि भनेका छन्, ‘दलालहरूले जहिले पनि आफ्नो तुच्छ स्वार्थका लागि राज्यका अङ्गहरूलाई जथाभाबी जनताका विरुद्ध प्रयोग गर्दै आएका छन् तर उनीहरू कहिल्यै पनि सफल भएका छ्रैनन् । केपी—बादल कम्पनीले पनि यही आपराधिक षड्यन्त्र गरिरहेको छ । यसप्रति सबै देशभक्त, लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट राजनीतिक शक्तिहरू, मानवअधिकारवादी, बुद्धिजीवी, पत्रकारसहित प्रहरी र सेनाको पनि उचित ध्यान जाओस् भन्नेमा हामी विशेष आग्रह गर्दछौँ ।’
यसप्रति कोही पनि भ्रममा नपर्न साथै दलाल पुँजीवादी सत्तालाई समाप्त पार्ने क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न विनम्र अनुरोध गर्दछौँ । हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौँ तर दलालहरू र दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ ।
यस्ताे छ बिज्ञप्ति