पौडेल भन्छन् : विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले ठुलो गल्ती गर्यो‍

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि सरकारले गल्ति गरकाे टिप्पणी गरेका छन् ।

‘मंगलबार क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तरपनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ’, रिपोर्टर्स क्लब नेपालमा पौडेलले बुधबार भने, ‘कुनै पनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन ।’

उनले अहिलेको सिजन र अवस्था शान्तिपूर्णरुपमा खुल्ला प्रतिष्पर्धामा आउन संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए । ‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ’, उनले भने, ‘यतिबेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसले मात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।’

नेता पौडेलले विप्लवले पनि प्राप्त उपलब्धि रक्षा गर्दै शान्तिपूर्णरुपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने,‘जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन ’

उनले परिस्थितिलाई ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे । पौडेलले थपे,‘यदि ठिक ढंगले परिस्थिति बुझन सकिएन भने यसले आँफैमाथि बज्रपात गर्न सक्छ। त्यसकाण उहाँलाई के भन्न चाहन्छौं भने आफ्ना कुराहरु खुल्ला प्रतिष्पर्धाको आधारमा र लोकतान्त्रिक विधिका आधारमा कुराहरुलाइ सशक्त रुपमा अगाडि बढाउनको निम्ति विशेष अनुरोध गर्न चाहन्छु ।’

राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने उनको भनाई छ । ‘त्यसको लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्छ’, पौडेलले भने, ‘त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने राज्यले त्यतिवेला आफ्नो स्टेप लिन सक्छ ।’

उनले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्ना अहिले नभएको पनि जिकिर गरे । ‘केही छिटपुट घट्ना भएका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ’, पौडेलले भने । उनले पटक–पटक अहिलेको सिजन र अवस्था भनेको नै शान्तिपूर्ण प्रतिष्पर्धा भएको सुनाए ।

नेता पौडेलले थपे ,‘हामी अहिले पनि हिजोका घाउ सुल्झाउने प्रयास गरिरहेका छौं । कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका छन् । हामीले त्यसो गर्न दिनुहुँदैन ।’

अझै पनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे । ‘विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, विप्लव समूहले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ । यसको लागि बढि पहलकमदी राज्यले लिनुपर्छ’, उनले भने, ‘राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन । वार्ता, सहमति र सम्वादको प्रक्रियाबाट उहाँहरु टेबुलमा आउनुपर्छ । एकपटक अवसर दिनुपर्छ । हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरि निर्णय गर्नुपर्छ ।’