सरकारसंग सम्झौता भएको दुईदिन नबित्दै जनकपुर लाग्यो स्वतन्त्र मधेसको नारा

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी गरेका हुन्।

बिहिबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए।

सम्झौता भएको दुई दिन नबित्दै गठबन्धनका कार्यकर्ताहरू जनकपुरधाम विमानस्थललाई अघोषित रूपमा कब्जामा लिई स्वतन्त्र मधेसको नारा लगाएका थिए। राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरू विमानस्थललाई चारैतर्फबाट घेरा हालेका थिए।

निजी सुरक्षा गार्डका साथै विमानस्थलबाट निस्केलगत्तै सयौं कार्यकर्ताहरूसँगै राउतले जनकपुरधाम नगरको परिक्रमा समेत गरेका थिए। यता राउत र सरकारबीचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल पुगेका पत्रकारहरूसँग उनका निजी सुरक्षा गार्डले भने दुर्व्यवहार गरे। राउतसँग पत्रकारहरूले कुरा गर्न खोजेपछि गठबन्धनका कार्यकर्ताहरूले धकेलेका थिए।

मास्क लगाएका सुरक्षा गार्ड

राउतको सुरक्षाका लागि भन्दै गार्ड समेत प्रयोग गरिएको छ । राउत विमानस्थलमा आइपुगनु अघि नै त्यहाँ पुगेका उनीहरुले बुलेट प्रुफ ज्याकेटसँगै मास्क लगाएका थिए । उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधिएको, आँखामा चश्मा लगाइएको र मास्कले मुख छोपेका छन् ।

उनीहरुले सिके राउतसँग प्रतिकृया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेका थिए । उनीहरु कहाँबाट र किन ल्याइएका हुन् रु भन्ने कुरा खुलेको छैन । यद्यपि स्वतन्त्र मधेस गठबन्धनका नेताहरुले राउतको अघिपछि भीडभाड हुन नदिन गार्डहरु खटिएको प्रतिक्रिया दिएका छन् ।