‘विप्लव’विरुद्ध कठोरतापूर्वक लाग्छौं – गृहमन्त्री थापा

संविधान विरोधी गतिविधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले विप्लवको गतिविधि धेरै दिनसम्म नचल्ने दाबी गरेका हुन्।

‘हामीले विभिन्न समूहहरूलाई राज्यको मुलधारमा आउन र लोकतान्त्रिक विधिबाट समास्याको समाधान खोज्न वार्तामा आउन अनुरोध गरिरहेका छौं ।’ गृहन्मन्त्री बादलले भने, ‘वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिनेछ । देशमा शान्ति, अमन चयन कायम गराउने राज्यकोे पहिलो कर्तव्य हो ।’ गृहमन्त्री बादलले विप्लव समुहले केहि स्थानमा हिंसात्मक गतिविधि गरेतापनि राज्यले सहजै नियन्त्रणमा लिने बताए ।

उनले भने, ‘हाम्रा लागि विप्लव समूह मुख्य चुनौती होइन ।’ उनले भने, ‘हामी हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गर्न सक्छौं । बाहिर हल्ला गरिए जस्तो विप्लव समूह चुनौतीका रुपमा आएको छैन ।’ उनले विप्लव समुह आफैं निस्तेज भएर जाने दाबी गरे । गृहमन्त्री बादलले सरकारले एक वर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गरेको, विस्तार गरेको, संघीयता कार्यान्वयनका लागि कानूनहरू बनाइरहेको, संरचनाहरू निर्माण गरिरहेको, सुशासन, शान्तिलाई स्थायीत्व गर्न थालेको र विकास र समृद्धीका आधारहरू तयार गरेको फेहरिस्त सुनाए । सरकारले केहि समय पश्चात अन्र्तराष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए ।

सुरक्षा व्यवस्था कडा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबार सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारका गृहमन्त्री रामबहादुर थापा बादल सुरक्षा गोष्ठीमा सहभागी हुन वीरेन्द्रनगर आएका कारण सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो । सुर्खेत विमानस्थलदेखि शुभ होटलसम्म हरेक सय मिटरमा सुरक्षा कर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मी व्यापक मात्रामा परिचालन गरिएपछि स्थानीयले भने सास्ती पाएका छन् ।