नेकपा प्रवेश गर्दै सिके राउत-मधेशमा जनमत संग्रह गराउन सरकार सहमत
मधेशलाई छुट्टै देश बनाउने पृथकतावादी अभियान चलाइ रहेका सिके राउतले आफ्नो अभियान छाड्दै नेकपा प्रवेश गर्ने भएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले स्वतन्त्र मधेश अभियान परियात्य गरेको घोषणा गर्दै नेकपा प्रवेश गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले राष्ट्रियसभा गृहबाट राष्ट्रिय महत्वको घोषणा हुन लागेको जानकारी दिए । देश सञ्चारसँग कुरा गर्दै अर्यालले घुमाउरो ढंगले भने, ‘दिउँसो १ बजे राष्ट्रियसभा गृह आउनुहोस् । त्यहाँ प्रधानमन्त्री पनि आउनुहुन्छ । तपाईंले राष्ट्रिय महत्वको विशेष न्युज पाउनुहुन्छ ।’
प्रधानमन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्ने
राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । रौतहट जिल्ला अदालतको आदेशअनुसार राष्ट्र विखण्डनको आरोपमा पुर्नपक्ष थुनामा रहेका राउतलाई सर्वोच्चले साधरण तारिखमा छाड्न आदेश दिएको थियो ।
रिहासँगै आजैबाट राउतले अब स्वतन्त्र मधेशको माग परित्याग गर्ने भएका छन् । यसैबीच प्रधानमन्त्री ओलीले सीके राउत रिहा भएको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने लागेका छन् । राष्ट्रिय सभागृहमा ओली र राउतले सँगै सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली नेकपाका अध्यक्ष प्रचण्ड र राउतले एउटै मञ्चबाट संबोधन गर्ने बताइएको छ ।
मधेशमा जनमत संग्रह गराउन सरकार सहमत
मधेशको मागमा जनमत संग्रह गराउने विषयमा सहमति भएपछि खुला राजनीतिमा आउने तयारी भएको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले दावी गरेका छन्। ‘जनमत संग्रह गराउन सरकार सहमत भएको छ,’ प्रवक्ता खानले बालुवाटारमा सहमति भएको जानकारी दिँदै भने, ‘स्वतन्त्र मधेश गठवन्धनका सबै मुद्दा फिर्ता हुने भएको छ।’
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको वार्तामा मधेशको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि मार्फत् पूरा गर्ने प्रतिवद्धता सरकारले जनाएको उनको दावी छ। यसका साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता हुने उनले जानकारी दिए।