सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला
टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
यसअघि सांसद् रेशम चौधरीको बहस मंगलबारबाट सुरु भएर एक सातापछि हिजो मंगलबार सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज सो फैसला सुनाएको हो ।अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ ३ अनुसार जन्मकैदको फैसला सुनाइएको हो ।सोही मुद्दाका दोषी भनिएका लक्ष्मणलाल थारुले भने सफाई पाएका छन् । दोषी ११ जना नै भए पनि एक जना नाबालक रहेकाले उनलाई सजाय तोकिएको छैन ।
सोही घटनामा संलग्न लक्ष्मण थारुलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ तर थारुले सो अवधी जेल जिवन बिताइसकेको कारण आजै जेल मुक्त गरिने बताइएको छ । २०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लगाइएको थियो।