यसरी गरियो पूर्व अर्थमन्त्री अधिकारीको अन्त्येष्टि- तीन छोरीले दिए दागबत्ति

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए ।

अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको हो । अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए । अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दिवंगत नेता पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओडाइएकाे थियाे । धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वयले संयुक्त रुपमा पार्टीको झण्डा ओढाए ।

दिवंगत नेता अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेलले जेष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफै बनाउलगायतका लोकप्रिय कार्यक्रम ल्याएर देश र जनतामा अमिट छाप छोडन सफल भएका स्वर्गीय अधिकारीले नेपालको कम्युनिष्ट आन्दोलनमा पु(याएको योगदानको स्मरण गर्दै पार्टीको तर्फबाट शोक व्यक्त गरे ।

नेता अधिकारीको ८३ वर्षको उमेर गएराति निधन भएको हो । उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरुको एमाले केन्द्रीय कार्यालय, धुम्बाराहीमा ठूलो भिड लागेको थियो । 

विक्रम संवत १९९३ साल बैशाख २२ गते बुबा रामप्रसाद अधिकारी र आमा पूर्णकुमारी अधिकारीको कोखबाट जन्मिएका नेता अधिकारीले २०५१ सालको पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्रीको रुपमा लोकप्रिय र जनप्रिय कार्यक्रम ल्याएका थिए ।