यस्तो भनेका थिए अन्तिम कार्यक्रममा स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीले
तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका पर्यटनमन्त्री रविन्द्र अधिकारीले कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे। करिब १० बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १२/१४ मिनेटजति कार्यक्रमलाई सम्बोधन गरे। खाना त्यहीँ खाए र पाथिभरा मन्दिर दर्शनका लागि उडे। मन्दिर दर्शनबाट फर्किने क्रममा उनी चढको हेलिकप्टर दुर्घटनामा पर्यो।
जबकी उनले थुम्की डाँडामा बन्न लागेको विमानस्थलबारे बोलेका खबर सम्वाददाता भर्खर लेख्दै थिए वा लेख्ने तयारीमा थिए। तर त्यो खबर समाचार कक्षमा आइनपुग्दै अर्को ठूलो समाचारले चैनहराम गर्यो- पर्यटनमन्त्री चढेको हेलिकप्टर दुर्घटना।
राष्ट्रिय राजनीतिबारे कम बोलेका उनले विमानस्थलको निर्माण र सञ्चालनमा आफू सम्वेदनशील रहेको बताएको कार्यक्रममै रहेका आठराइ चुहानडाँडा गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए। देशैभर बन्द रहेका एअरपोर्ट सञ्चालन भइरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाउँदै छौँ । उनले भने, यहाँ पनि एअरपोर्ट बनाउने हो, म त्यसैका लागि यहाँ आएको छु।
राष्ट्रिय राजनीतिबारे उनले खासै बोलेनन्। सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप सही नभएको उनले बताएका थिए। उनले वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण र टेन्डर गरी विमानस्थल बनाउन ३ वर्षको समय लाग्ने अधिकारीले कार्यक्रममा बताएका थिए। कार्यक्रम सकेर खाना खाइसकेपछि उनी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि उडेका थिए।
को थिए स्वर्गीय मन्त्री रवीन्द्र अधिकारी
स्वर्गिय रवीन्द्र अधिकारी २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नु भएको थियो । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रवीन्द्र अधिकारी पर्यटन मन्त्रीको रुपमा वर्तमान सरकारमा जिम्मेवारी पाएका थिए । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता थिए ।
यसअघि देशमा भएको विभिन्न सर्वेक्षणमा १० उत्कृष्ट सभासद् चयन अनलाइन भोटिङबाट रवीन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिएका थिए । उनलाई विगतमा गण्डकी प्रदेशको नेकपाको मुख्यमन्त्रीको उमेरदवारको रुपमा हेरिएको थियो । राजनीतिक बिश्लेषकहरुले उनलाई नेकपाको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने प्रवल सम्भावना रहेको क्षमता भएको नेताको रुपमा हेरेका थिए। तर पनि पछिल्लो समय भएको वाइडबडी भ्रष्टाचार काण्डमा भने उनको नाम जोडिँदा केही प्रतिष्ठा खस्किएको थियो ।
२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका अधिकारी, आफ्नो गाउँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाँउबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासिल गर्नु भएको थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनुहुन्थ्यो ।
मन्त्री अधिकारीकाे परिवार
मन्त्री रवीन्द्रअधिकारीले विद्या भट्टराईसंग दाम्पथ्य जीवनमा बाधिनु भएको थियो । उहाँको दुई छोरा विराज अधिकारी र स्वराज अधिकारी रहेका छन् ।
मन्त्री अधिकारीको बिद्यार्थी राजनीति र उच्च शिक्षा
प्रवेशिका उतीर्ण गर्ने वित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नु भएकोे थियो । बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि विद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वा्चित हुनु भएकाे थियाे ।
२०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वा्चित हुनु भएको थियो । त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उंहाले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको छ । बिगत दुई दशक देखि उंहाका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन् ।
अधिकारीको विद्यार्थी आन्दोलन र जेल
पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील रहेका थिए । ०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक-पटक गरी छ महीना जेल र हिरासतमा बिताउनु भयो । ०४६को परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नुभएकाे थियाे।
नेकपा एमाले पार्टी राजनीतिमा
२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४०मा इलाका पार्टी कमिटीमा,२०४६/ ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भएकाे थियाे । २०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनी पुनस् सचिबमा निर्वा्चित हुनु भयो । ०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्धको आन्दोलनमा पटक पटक गरी पाँच महिना जेल बस्नु भयो ।
संसद र संविधान सभा
२०६४ / २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा खेलेको भूमिका सबै लाई अबगत भएकै कुरा हो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्वजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोट आदि बिषयमा बिभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको थियाे ।
संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नु भएको थियो । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति रहनु भयो ।
संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहनुभएकाे थियाे । भने २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वा्चित हुनुभएको थियाे । लगातार तेश्रो पटक निर्वा्चित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुनुहुन्थ्याे ।
के कुरामा विवादित थिए मन्त्री
स्वच्छ छवीको निर्माण गरिरहेका जनताको आशालाग्दा युवा मन्त्री रवीन्द्र अधिकारी पछिल्लो समय वाइडवडी विमान खरिदको विषयमा मुछिएका थिए, यद्यपी साे घटना पुष्टि भइसकेको थिएन ।