सरकारको धरपकडप्रति विप्लवको आक्रोश
अर्धभूमिगत अवस्थामा रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तामाथि सरकारले थालेको धरपकडप्रति आक्रोश पोखेका छन् । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा आक्रमण भएको केही दिनपछि प्रेस वक्तव्य जारी गर्दै विप्लवले आफ्ना नेता कार्यकर्तामाथि सरकारबाट भइरहेको धरपकड तत्काल बन्द हुनुपर्ने बताएका हुन् ।
‘एनसेलमाथि भएको भनिएको कारबाही प्रकरणको नाममा सरकाले देशैभरीबाट हाम्रो पार्टी र जनवर्गीय संगठनका नेता कार्यकर्तामाथि धरपकड तीब्र बनाएको छ’, विप्लवले भनेका छन्, ‘गिरफ्तार गरिएकामाथि भटाभट सार्वजनिक अपराध मुद्दा चलाइँदैछ, संविधानविपरित मानसिक तथा शारीरिक यातना दिएको जानकारी पनि हामीलाई आएको छ ।’
विप्लवले यस्ता दमनकारी क्रियाकलाप तत्काल बन्द गरेर पक्राउ परेका सबै नेता कार्यकर्तालाई रिहा गर्न पनि माग गरेका छन् । ‘यो राज्यले देश र जनतालाई कङ्गाल बनाउने घुस्याहा र भ्रष्टचारीलाई कारबाहीको साटो संरक्षण गरिरहेको छ’, विप्लवले अगाडि भनेका छन्, ‘गलत काम गर्नेलाई हाम्रो कारबाहीलाई सही ठहर्याउनुको साटो हामीमाथि झनै दमनको भाषा बोलिरहेको छ । सरकार पनि आफू झन् भ्रष्ट, घुस्याहा र कालाबजारीसँग मिलेको पुष्टि भइसकेको छ ।’
एनसेल प्रकरण र अन्य घटनामा सरकारले पक्राउ गरेका आफ्ना सबै नेता कार्यकर्तालाई रिहा नगरे कडा कदम उठाउने चेतावनी विप्लवले दिएका छन् । सरकारले गिरफ्तार गरेका अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, बच्ची यादव, एनसेलको नख्खु कार्यालयमा बम विस्फोट प्रकरणमा पक्राउ युवा नेता सूर्य भुजेल, महावीर र मानबहादुर विश्वकर्मासहितलाई तत्काल रिहा गर्न पनि विप्लवले सरकारसँग माग गरेका छन् ।
‘गिरफ्तार गरिएका सबै कार्यकतालाई बिना शर्त रिहा गरियोस,’ विप्लवले वक्तव्यमा भनेका छन्, ‘यदि त्यसो नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ, त्यसबाट निस्कने परिणाण जिम्मेवार स्वयम् यो सत्ता हुनेछ ।
यस्ताे छ बिज्ञप्ती