अब मोबाइलबाटै सवारी चालकको निगरानी

बाँके, काेहाेलपुर ट्राफिक प्रहरीले लामो दुरीका सवारी चालकहरुलाई प्रविधीको प्रयोग गरेर निगरानी गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक कम्युनिकेसन एप मार्फत लामो दुरीका सवारी चालकको निगरानी गर्न सुरु गरेको हो । विशेषगरी लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण कुमार पौडेलले जानकारी दिए ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले ट्राफिक कम्युनिकेसन एपको सुरु गरिएको छ । आइतबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले एपको उद्घाटन गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका इन्चार्ज प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले लामो दुरीका यात्रुबहाक सवारी चालकको फोटोसहितको विवरण उक्त एपले लिने जानकारी दिए ।

एप प्रयोगमा आएपछि लामो दूरीमा संचालन हुने सवारी साधनले कानुनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको पत्ता लाग्ने उनले बताए । पहिलो चरणमा काठमाडौंको नागढुंगा, सर्लाहीको कर्मैया, नवलपरासीको भूमही र कोहलपूरमा एप सञ्चालनमा आएको ५ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी पिम्ताबर अधिकारीले जानकारी दिए ।

यो एपमा ट्राफिक म्यासेज ब्रोडकास्टिङ गर्ने व्यवस्था समेत रहेको बताउदै उनले अब लामो दुरीका सवारी चालकको निगरानी एप सहायताले मोबाइलमा नै गर्न सकिने बताए । एपको प्रयोगले समयको पालना, तीव्र गतिमा नियन्त्रण भइ सवारी दुर्घटना न्यूनिकरण हुने र प्रभावकारी सवारी व्यवस्थापन एवं सुरक्षित गन्तव्यका लागि एप उपयोगी हुने डिआइजी अधिकारीको भनाई रहेको छ ।

जिल्ला प्रहरीका कार्यालय बाँकेका प्रमुख एसपी अरुण कुमार पौडेलका अनुसार लामो दुरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए नभएको पत्ता लगाउन एक निश्चित विन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । मोबाइलमा राखिएको एप हेरेर ट्राफिक प्रहरीहरुले चेकिङ पोइन्टहरुमा चेकजांचको क्रममा चालकको फोटो र अनुहार जांच तथा विवरणको आधारमा चालक बदली भए नभएको सहजरुपमा पत्ता लगाउन सक्ने जानकारी दिए ।

ट्राफिक प्रहरीहरुले जीपीएस लोकेसन पनि थाहा पाउन सक्ने यो एपमा चालकको लाइसेन्स नम्बर, टाइम कार्ड समेत चेक गर्ने सुविधा भएकाले चालकले झुक्याउन नपाउने बताइएको छ ।

यातायात व्यवसायीहरुले पनी ट्राफिक कम्युनिकेसन एप को सुरुवात भएकोमा खुसी व्यक्त गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेका इन्चार्ज टंक प्रसाद बस्यालले ट्राफिक नियमको सधै व्यवसायीहरुले पालना गरेको भन्दै एपको समेत सही सदुपयोग गर्नुपर्ने बताए ।

विगतमा समेत नियम कानुनको पालना गरिरहेको अवस्था छ, उनले भने, ट्राफिक प्रहरीले एपको सही सदुपयोग गर्नुपर्छ । एपलाई देखाएर अनेक बहानामा दुख दिन पाइदैन । प्रदेश नम्बर ५ मा चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा ३ सय ५० जना भन्दा बढी मानिसहरुले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

नेपालमा एक वर्षमा २५ सय ९३ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । पछिल्लो ५ महिनामा सवारी दुर्घटनाबाट ११ सय ७६ जनाको मृत्यु भएको बताइन्छ ।