नयाँ बानेश्वर संसद भवन अगाडि मानवअधिकारकर्मीहरुको प्रदर्शन
संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ९ जना महिलासहित ३२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा.गोविन्द केसीसँग सरकारले गरेका पूर्वसहमतिहरु कार्यान्वयन गर्नु पर्ने भन्दै धर्ना बसेका मानव अधिकार तथा शान्ति समाजका ९ जना महिलासहित ३२ जनालाई प्रहरी पक्राउ गरेको हो।
यि हुन पक्राउ पर्नेहरू
पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा.गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल रहेका छन्। यस्तै अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आर सी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिम बहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा, सुजन पुडासैनीलाई गिरफ्तार गरेको गरेकाे छ । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।
यस्ता थिए नारा
धर्नामा अधिकारकर्मीहरुले ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गो, नेता गहु्रङ्गो, सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका, साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार, साढे चार अरब भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार , मूल दोषीहरुलाई कारबाही गर, लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने र डा.गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको थियो ।
शान्ति समाजले दुई दर्जन जिल्ला शाखाहरुले स्थानीय प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाइसकेका छन्।