सिट्ठी फुक्दै ‘छापामार शैली’मा बालुवाटारमा नेविसंघको ‘इन्ट्री’,

चिकित्सा शिक्षा विेधेयकको विरोधमा सिट्ठी जुलुस गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।  नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटासहित एक दर्जन विद्यार्थी प्रधानमन्त्री निवास वालुवाटारबाट प्रक्राउ परेको नेविसंघले जनाएको छ।

सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको बताइएकाे छ । प्रहरीलाई छक्याउँदै निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि पुगेका नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरेका थिए ।

 छापामार शैलीमा नेविसंघका नेता कार्यकर्ताले निषेधित क्षेत्र प्रवेश गरेर नाराबाजी गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्दै धरपकड सुरु गरेको थियो । सो क्रममा प्रहरीले दुई दर्जन नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेमा नेविसंघको नेताहरु सुशील भट्ट निरञ्जन थापा, सुवोध ओली, किरण भट्टराई, सन्तोष गुरुङ, शौरभ घिमिरे, सन्देश पन्तलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको बताइएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रमणबाट फर्किने क्रममा पनि नेविसंघले विमानस्थलमै ओलीलाई कालोझण्डा देखाएको थियो ।