मोस्ट वान्टेड सूचीमा रहेका एक गुण्डालाई बिहानै प्रहरीले ठोक्यो गोली
प्रहरीले लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा राखेर खोजेका एक व्यक्ति प्रहरीकै गोलीबाट मारिएका छन् । आज बुधवार बिहानै ४ बजेतिर रुपनी नजिक गोली चलेको हो । बुधबार बिहानै सप्तरीको रुपनी नजिक प्रहरीले गोली हानेर मोस्ट वान्टेड सूचीमा रहेका दिपेन्द्र चौधरी मारिएका हुन् । सप्तरीकै कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरीलाई प्रहरीले लामो समयदेखि खोज्दै आएको थियो । उनी तराईका धेरै घटनामा जोडिएको प्रहरी दावी छ ।
खोज्दै जाने क्रममा बुधवार बिहान सदरमुकाम राजविराजबाट रुपनीतर्फ चौधरी जाँदै गरेको सूचना पाएपछि प्रहरी एलर्ट भई चेकजाँचमा बसेको थियो । बिहान उज्यालो नहुँदै चौधरी आफ्ना एक सहयोगीलाई बाइक चलाउन लगाएर बाइकको पछाडि बसेर गइरहेको प्रहरीले फेला पारेको थियो । प्रहरीलाई देखेपछि झन भाग्न थालेका चौधरीमाथि प्रहरीले गोली चलाएको बताइएकाे छ । गोली लागेर बाइकको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ । बाइक चालक भने भाग्न सफल भएको बताइएको छ ।
सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले चौधरीले प्रहरीले पछ्याएपछि चौधरीले नै पहिले प्रहरीमाथि गोली चलाएको बताएका छन् । साथै उनले मोटरसाइकल चालक भने अँध्यारोको फाइदा उठाउँदै भाग्न सफल भएको बताए । चौधरी यसअघि एक प्रहरी हवल्दारको हत्यामा सम्लग्न भएको सप्तरी प्रहरीले जनाएको छ । यही माघ २ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्र प्रताप यादवलाई गोली हानेर हत्या गरिएको थियो । सोही घटनामा चौधरीको संलग्नता रहेको प्रहरीको दाबी छ।
गत बुधबार साँझ साढे आठ बजेको समयमा खडक नगरपालिका–८ विशनपुर चोकमा मोटरसाइकलमा आएका २ व्यक्तिको समूहले हबल्दार महेन्द्र प्रताप यादवमाथि गोली प्रहार गरेको थियो। हत्या गरिएका प्रहरी हबल्दारको खोजी कार्य प्रहरीले तीब्र पारेको र यही क्रममा चौधरी भेटिएको बिष्टले जानकारी दिए ।
यस्तै, प्रहरी कारबाहीमा मारिएका चौधरी २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या तथा इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरी बम बिस्फोट लगायतका घटनामा संलग्न रहेका थिए। सो घटनापछि चौधरी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए।